विरामीको सहारा बन्दै बाणिज्य संघ - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

विरामीको सहारा बन्दै बाणिज्य संघ

।। अर्जुन कार्की ।।

मेचीनगर । कोभिड–१९ को रोकथामका लागि देशमा सरकारले लकडाउन गरेको आज ६७औँ दिन भयो ।

लकडाउनले जनजीवन पुरै प्रभावित बनेको छ । कोरोनाको संक्रमणको माहामारी नेपालमा व्यापकरुपमा फैलिरहेको छ ।

शुक्रबार दिउँसोसम्म कोरोनाकै कारण नेपालमा ६ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । झापामा कोरोना संक्रमितको संख्या १०७ पुगेको छ ।

यस्तो बेलामा मुलुकमा कोहि भोकले छटपटिरहेका छन् भने कोहि रोगले थला परिसकेको अवस्था छ ।

अहिले कोरोना बाहेकका अन्य रोगको अस्पतालमा उपचार पनि सम्भव छैन । कोरोनाका उपचार गर्ने अस्पताल मात्र खुलेका छन् भने अन्य विरामीका लागि अस्पताल सबै प्रायः बन्द छन् ।

लकडाउनले घरैमा नै अन्य रोगले छटपटाईरहेका दिर्घ रोगका विरामीहरुले आफुलाई आवश्यक पर्ने औषधि पाउन सकिरहेका छैनन् । त्यस्ता धेरै विरामीको स्थिति अन्तिम अवस्थामा पुगेको छ ।

भारतका विभिन्न कम्पनीका कम्पोजिसन मिलाएर खाने औषधिका विरामीहरुलाई लकडाउनले अपठेरोमा पारेको अवस्था छ । नेपालमा पनि धेरै किसिमका औषधि मिलाएर खाने विरामीका लागि पनि समस्या भइरहेको छ ।

यस्ता दिर्घ रोगी विरामीका लागि औषधिको सहज वातावरण बनाई दिन अहिले मेचीनगरको एउटा उद्योगी व्यापारीहरुको संस्था लागि परेको छ । मेची उद्योग बाणिज्य संघ धुलाबारीले मुटु, मिग्रौला, क्यान्सर लगायतका संवेदनशिल रोगका विरामीहरुको लागि औषधि सहजरुपमा उपलब्ध गराउन लागि परेको छ ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन शुरु गर्यो । लकडाउन शुरु गरेको १५ दिनपछि यो संस्थाले गम्भीर प्रकृतिका विरामीहरुको कम्पोजिसन मिलाएका औषधिका लागि भारत तथा नेपालका फर्मासिस्ट मार्फत नेपाली नागरिकहरुलाई उक्त औषधि सहजरुपमा उपलब्ध गराउन थालेको छ ।

संघका अध्यक्ष ऋषिराज तिम्सिना भन्छन्–‘किडनी, क्यान्सर, मुटु लगायतका विरामीले भारत र नेपालको कम्पोजिसन मिलाएका औषधि खानबाट बन्चित नेपालीहरुका लागि औषधि उपलब्ध गराउँदै छौँ ।’

अध्यक्ष तिम्सिनाले १००० विरामीका लागि कम्पोजिसन मिलाएका भारतीय र नेपालका औषधिहरु उपलब्ध गराईसकिएको दावी गरे ।

कम्पोजिसन मिलाएका भारतीय औषधिको माग गर्ने नेपालीहरुमा काठमाडौँ, पोखरा, धनकुटा, इटहरी, ईलाम, झापा लगायत जिल्लाका छन् । दैनिक १० जना भन्दाबढीले औषधिका लागि संघको कार्यालयमा फोन गर्ने गरेको उनको भनाई छ ।

भारत पानीट्याङ्कीका फर्मासिस्ट मार्फत सिलीगुडी लगायतका ठाउँबाट औषधिहरु मगाएर मेचीपुलमा ल्याउने गरिएको छ ।

मेचीपुलबाट संघका पदाधिकारीहरु गएर उक्त औषधिहरु ल्याउने गरिएको वरिष्ठ उपाध्यक्ष मोहन निरौलाको भनाई छ ।

औषधिहरु संघमा उपलब्ध भएपछि सम्बन्धीत विरामीका आफन्तलाई खवर गरेपछि कार्यालयमा आउने गरेका छन् । जति मुल्यमा औषधि खरिद गरिएको हो, सोहि रकम दिएर विरामीले अर्डर अनुसारको औषधि लिएर जाने गरेको संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले जानकारी दिए ।

विरामीहरुको औषधि उपलब्ध गराउँन मेचीनगर नगरपालिका तथा वडाका फोकल पर्सनहरुको सहयोग रहेको वस्नेतले बताए ।

शुक्रबार औषधि प्राप्त गर्ने धनकुटा जोरपाटी गाउँपालिका–६ सिठुवाका महेन्द्र थापा भन्छन्– ‘व्यापारीहरुको छाता संगठन मेची उद्योग बाणिज्य संघ भएपनि कोरोनाको जोखिमका बेला घर–घरमा थला परेर बसेका विरामीहरुका लागि जुन सेवा पुर्याई रहेको छ, एकदम सरहानिय छ ।’

उनका अनुसार इटहरी बस्ने मेरो ससुरा बुबा तीन वर्षदेखि श्वासप्रश्वास अर्थात सियोपिडीका विरामी हुन् ।

‘उहाँको औषधि भारतमा मात्र पाइन्थ्यो, उक्त औषधि संघले उपलब्ध गराई दिएकोमा अध्यक्ष तिम्सना लगायतको पदाधिकारीहरुलाई मिडियामार्फत धन्यवाद दिन चाहान्छु’,–उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: