झापाका विरामी रातभर अस्पताल बाहिरै, जिल्लामै कोरोना अस्पतालको खाँचो - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

झापाका विरामी रातभर अस्पताल बाहिरै, जिल्लामै कोरोना अस्पतालको खाँचो

मेचीनगर, १७ जेठ । झापामै कोरोना अस्पताल नबनाउँदा आगामी दिनमा विरामीले उपचार नपाउने चिन्ता थपिएको छ ।

कोरोना पुष्टि भएर कचनकबलबाट शुक्रवार धरान पुर्याइएका २७ जनालाई भर्ना नगरी रातभर अस्पताल बाहिरै राखिएपछि झापामा छुट्टै अस्पतालको आवश्यकता अझ जरुरी देखिएको हो ।

झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको नयाँ भवनमा कोभिड अस्पताल बनाउने प्रदेश सरकारको निर्णय अहिले स्थानीयवासीको विरोधले कार्यान्वयनमा आउन सकेको छैन ।

स्थानीयवासीले कोभिड अस्पताल कलबलगुडी प्रशिक्षण केन्द्रमा उपयुक्त हुने सुझावसहित अञ्चल अस्पताल नजिकै नबनाउन माग गर्दै आएका छन् ।

झापाका विरामीले धरान र विराटनगरको कोभिड अस्प्ताल भरिभराउ भएपछि जिल्लाभित्रै बनाउने भनिएको कोभिड अस्पताललाई छिटो सञ्चालनको वातावरण बनाउन दवाव बढ्दै गएको छ ।

रातभर विरामी बाहिरै

६७ जना कोरोनाका विरामीलाई उपचार गरिरहेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तत्काल बेड नभएको भन्दै रातभर झापाका विरामीलाई बाहिरै राखेको थियो ।

शुक्रवार राति ११ बजे अस्पताल पुगेका झापाका विारमीले शनिवार विहान ९ बजे सामाजिक विकास मन्त्री जीवन घिमिरे आएपछि मात्र भर्ना पाए ।

विरामीहरुले रातभर बाहिर चिसोमा बिताउनुका साथै खानेकुरा समेत नपाएको बताएका छन् ।

‘हामीलाई झापाबाट जुन गाडीमा लगिएको थियो, रातभर त्यही बस्न भनियो,’ एक जना विरामीले भने–‘धेरैबेर गाडीमै बस्नुपर्यो, केहीबेर बाहिर निस्केर डुल्यौं ।’

सामाजिक विकास मन्त्री जीवन घिमिरेले झापाका विरामीहरुले बाहिर बस्नु परेकोमा दुःख व्यक्त गर्दै यसमा अस्पतालको कमजोरी भएको बताएका छन् ।

२०० बेडको कोरोना अस्पताल भनेर पहिल्यैदेखि भनिएको र त्यहाँ त्यही किसिमले तयारी गर्न प्रदेश सरकारले पहिल्यै निर्देशन दिइसकेको मन्त्री घिमिरे बताउँछन् ।

अस्पतालका प्रवक्ता डा. दिनेश सापकोटाले एकैचोटी धेरै विरामी आउँदा बेडको व्यवस्था मिलाउन ढिलो भएको प्रतिक्रिया दिएका छन् ।

झापाका विरामीहरु शनिवार विहान भर्ना भइसके पनि आगामी दिनमा अझ विरामी थपिए यस्तै समस्या दोहोरिने सम्भावना छ ।

प्रदेश नं. १ मा सबैभन्दा बढी विरामी झापाका र त्यसमध्ये पनि कचनकबल गाउँपालिकाका रहेका छन् । झापामा कोरोना संक्रमितको संख्या १०७ पुगेको छ भने कचनकबलमा मात्र १०० पुगिसकेको छ ।

भद्रपुरमा १, बाह्रदशीमा २, गौरादहमा २, झापा गापामा १ र दमकमा १ कोरोना पुष्टि भइसकेको छ । जसमध्ये दमक र बाह्रदशीका एक एक जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: