आइसोलेसन भरिए, संक्रमितहरु घरमै बस्न बाध्य

  प्रकाशित मिति
२४ श्रावण २०७७, शनिबार १९:१२


झापा, २४ साउन । संक्रमितको संख्या ह्वात्तै बढेपछि उपचार नपाउने समस्या सुरु भएको छ । विराटनगरकै ३८ जना संक्रमित कोभिड हस्पिटलमा ठाउँ नपाएर होम आइसोलेसनमा बस्न बाध्य छन् ।

विराटगरबाट प्रकाशित हाम्रो मत अनलाइनले जनाए अनुसार अस्पतालका शैय्या भरिएपछि विराटनगरका ३८ जना कोभिड–१९ बाट संक्रमितहरु दुई दिनदेखि घरमै बस्न बाध्य छन् । कतिपय त त्योभन्दा ४÷५ दिन अगाडिदेखि घरमै छन् ।

यसअघिका संक्रमितले हस्पिटलमा ठाउँ नपाइरहेका बेला शनिबार थपिएका ३३ जनालाई कहाँ राख्ने हो कुनै टुंगो छैन ।

विराटनगर महानगरपालिकाका विभिन्न वडाहरुमा कोरोना पुष्टि भएका लक्षण देखिएका र नदेखिएका संक्रमितहरु असुरक्षित ढंगले घरमै बसिरहेका छन् ।

विराटनगर–५ का एक संक्रमितले भने–‘मलाई वडा कार्यालयबाट तपाईलाई कोरोना संक्रमण पुष्टि भएको छ, सुरक्षित ढंगले बस्नुहोला भनेर टेलिफोन आयो त्यसपछि कसैले सम्पर्क गरेका छैनन् ।’

संक्रमण भएपछि कतै हिँडडुल गर्न जान हुँदैन भन्ने थाहा भए पनि घरकै अरु सदस्य जोखिममा पर्ने भएकोले उहाँलाई थप चिन्ता भएको छ ।

उद्घोष दैनिकमा कार्यरत विराटनगरका पत्रकार कमल रिमालमा शुक्रबार अपरान्ह कोरोना संक्रमण पुष्टि भए पनि शनिबार अपरान्हसम्म उनी घरमै छन् । घरमा बस्नुभन्दा अस्पतालको आइसोलेसनमा बस्न चाहेका उनका लागि अहिलेसम्म अस्पतालको प्रबन्ध गरिएको छैन ।

विराटनगर महानगरपालिकाका कोभिड १९ कन्ट्रयाक्ट टे«सिङ सुपरभाइजर हैदर अलीका अनुसार मोरङ र सुनसरीका सबै अस्पतालका वेड भरिएका कारण संक्रमितलाई घरमै राख्नुपरेको हो ।

‘हामीले संक्रमितसँग सम्पर्कमा पुगेकाहरुको पहिचान गर्ने र उनीहरुको परीक्षण गर्ने काम गरिरहेका छौं । तर, संक्रमितलाई भने अस्पताल अभावले गर्दा घरमै सुरक्षित बस्न भनेका हौं,’ अलीले भने– ‘अस्पतालको बेड खाली हुनासाथ उहाँहरुलाई अस्पतालमै लैजान्छौं ।’

विराटनगर मात्र होइन प्रदेशभर ६० जना भन्दा बढी कोरोना संक्रमित अहिले अस्पताल पुग्न सकेका छैनन् । संक्रमण पुष्टि भएर पनि घरमै बस्नेहरुको संख्या करिब ६० जना रहेको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड –१९ अस्पताल विराटनगरका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

उनले शनिबार कोभिड अस्पतालको आइसोलेसनमा रहेका ८ जनाको नेगेटिभ रिपोर्ट आएको र गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविदालयका ८९ जनाको स्वाब संकलन भएकोले आइतबार केही व्यवस्थापन गर्न सकिने जानकारी दिए ।

अस्तालबाहिर ११० भन्दा धेरै संक्रमित

प्रदेश १ मा अहिले जिल्ला अस्पतालहरुको समेत गरी ३ सय ५० हाराहारी आइसोलेसन बेडहरु सञ्चालनमा छन् ।

जबकि प्रदेशमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या भने ४६० छ । त्यस आधारमा ११० भन्दा धेरै संक्रमित अहिले अस्तालबाहिरै छन् ।

दिनहुँ संक्रमितको संख्या थपिदै गएको सन्दर्भमा अस्पतालहरुमा आइसोलेसन बेडको अभाव भएको हो ।

प्रदेश १ मा शनिबारसम्म १३७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९०८ जना उपचारपछि निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

अहिले प्रदेश सरकारले स्थापना गरेको कोशी कोभिड–१९ अस्पताल विराटनगरमा ६० शैय्या, कोशी अस्पतालमा १० शैय्या, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १००, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा १२५ र मेची अस्पताल झापामा २५ शैय्याको आइसोलेसन सञ्चालन भइरहेको छ ।

धरानमा ९० जना संक्रमित उपचाररत रहेकोले लक्षण भएका संक्रमितका लागि १० शैय्याको प्रवन्ध मिलाउन सकिने सम्भावना रहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।

आइसोलेसन किन अभाव भयो ?

प्रदेश सरकारले दुई चरणमा निर्णय गरेर प्रदेशभर १६ सयभन्दा बढी आइसोलेसन शैय्या तयारी अवस्थामा राखेको जानकारी सार्वजनिक गरेको थियो ।

पहिलो पटक गत चैत १३ गते प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशका निजी अस्पतालहरुमा ८ सय शैय्या आइसोलेसन तयारी हातलमा राख्न निर्देशन दिएको भन्दै संक्रमित बढेको अवस्थामा अस्पतालको प्रवन्ध गर्न सकिने बताएका थिए ।

तर, ३ सय जना संक्रमित हुँदै प्रदेशमा कोरोनाका बिरामी तथा संक्रमितहरु राख्न नसक्ने विडम्वनापूर्ण अवस्था उत्पन्न भएको छ ।

मन्त्री घिमिरेले नोवेल अस्पतालमा २००, विराट अस्पतालमा १००, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २००, कोशी अस्पतालमा १००, मेची अस्पतालमा ५० र वीएन्डसी अस्पतालमा १५० शैय्या आइसोलेसन बन्ने जानकारी दिएका थिए । तर, बीपी र कोशी बाहेक अहिलेसम्म निजी अस्पतालहरुले प्रदेश सरकारलाई आइसोलेसन उपलव्ध गराएका छैनन् ।

बरु विराटनगरका अधिकांश ठूला अस्पतालहरुमा कोरोना संक्रमण फैलिएपछि आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन् ।

(साभार : हाम्रो मत अनलाइन)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
error: content is protected if you want please contact Admin
error: content is protected if you want please contact Admin