चर्चामा नआएका हवाई प्राधिकरणका ‘कुलमान’

  प्रकाशित मिति
१ आश्विन २०७७, बिहीबार १७:१४


पूर्ण चुडाल ।         ( फोटो : दिपेन्द्र कटुवाल)

।। मोहन काजी ।।
झापा, १ असोज । कुलमान घिसिङले विद्युत प्राधिकरणको सुधार गरे जस्तै हवाई प्राधिकरणको सुधारका लागि झापामा नमुनायोग्य काम गरेर देखाएका पूर्ण चुडाल अहिले मुलुककै सबैभन्दा ठूलो हवाई अड्डा त्रिभुवन विमानस्थलको आन्तरिक उडान हेर्ने प्रमुखको जिम्मेवारीमा पुगेका छन् ।

झापा घर भएका चुडाल चन्द्रगढी विमानस्थलको प्रमुखको रुपमा चार वर्ष बसे । उनको कार्यकालमा यो हवाई अड्डाको कायापलट भयो । कोभिड–१९ को महामारी नभइदिएको भए उनले त्यहाँ गरेको सुधारको ठूलो उपलब्धि ‘भिजिट नेपाल २०२०’ को सुरुवातमै मुलुकले पाइसक्थ्यो ।

उनले झापामा कार्यरत रहँदा मरिमेटेर गरेको राष्ट्रसेवाको जनस्तर र सरकारी स्तरमा प्रशंसा भएको छ । सरकारले मुलुककै उत्कृष्ट विमानस्थलको रुपमा चन्द्रगढी विमानस्थललाई पुरस्कृत गर्यो । चुडाल पनि सम्मानित भए ।

सरकारबाट मात्र होइन, चुडाललाई जनस्तरमा त्योभन्दा बढी सम्मान मिल्यो । उनी झापाको उत्कृष्ट नागरिक घोषित भए । विर्तामोडमा उनको भब्य सम्मान भयो । पचासभन्दा बढी संघसंस्थाले उनको इमान्दार सेवाको कदर गर्दै दोसल्ला ओढाए, सम्मान पत्र टक्र्याए ।

उडान रद्द हुने रोगको अन्त्य

२०७३ साउनमा झापामा सरुवा भएर आउँदा उनले चन्द्रगढी विमानस्थलको हविगत देखे । काठमाडौं पछि धेरै पर्यटक आगमन हुने झापामा रहेको यो विमानस्थलको आमूल सुधारतर्फ उनको ध्यान गयो ।

सरकारले पठाएको बजेटले मात्र नपुग्ने भएपछि उनले समाजसेवी दाता, पर्यटन व्यवसायी, उद्योगीलगायतलाई गुहारे । उनको योजना, मिहेनत र इमान देखेपछि सबैतिरबाट सहयोग ओइरिन थाल्यो ।

उनले विमानस्थलको चौतर्फी सुधार सुरु गरे । उडान सुरक्षा, यात्रु सुविधा र भौतिक संरचना निर्माण युद्धस्तरमा अघि बढ्यो । उनले भिजिविलिटी नपुगेर जहाजको उडान क्यान्सिल हुने विमानस्थलको दीर्घरोगको उपचार गरे । आँधीहुरी र टोर्नाडो आउँदा बाहेक मौसमी प्रतिकूलताका कारण जहाजको उडान चन्द्रगढी विमानस्थलमा नरोकिने प्रविधि उनले जडान गरे ।

कुलमानले ‘लोडसेडिङ’ हटाए जस्तै चुडालले मौसमको कारण ‘उडान रद्द भइरहने’ रोगलाई सँधैका लागि अन्त्य गरिदिए ।

रात्रिकालीन उडान सुरु

‘भिजिट नेपाल २०२०’ मा मुलुकले २० लाख पर्यटक भित्राउने लक्ष्य निर्धारण गरेपछि चुडालले चन्द्रगढी विमानस्थललाई रात्रिकालीन उडान हुनसक्ने बनाउनुपर्छ भन्ने सोचे ।

यसका लागि उनले गृहजिल्ला झापाकै प्रधानमन्त्री, तत्कालीन अर्थमन्त्री युवराज खतिवडा, तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी, वत्र्तमान पर्यटनमन्त्री योगेश भट्टराई र विभागीय प्रमुखहरुलाई आफ्नो योजनाप्रति सहमत गराए ।

‘चुडालजी तपाईलाई के कस्तो बजेट सहयोग गर्नुपर्छ त्यसको प्रबन्ध म मिलाउला, यो (चन्द्रगढी) एयरपोर्टलाई कसरी सुविधासम्पन्न र आधुनिक बनाउनु पर्छ त्यसको जिम्मेवारी तपाईले वहन गर्नुहोस्’ भन्दै प्रधानमन्त्री केपी ओलीले चुडाललाई विमानस्थलमै यसरी हौसला दिने गरेका थिए ।

उनले विदेशमा भएका अत्याधुनिक प्रविधिलाई भित्राए । दातृसहयोग जुटाए । पर्यटन मन्त्रालय र उड्डयन प्राधिकरणलाई रिझाए । अनि चन्द्रगढी विमानस्थलमा रात्रिकालीन उडान सुरु गरेरे छाडे चुडालले । २०७५ माघमा प्रधानमन्त्री ओली नै पहिलो रात्रिकालीन उडानको पहिलो यात्रु बनेर चन्द्रगढीबाट काठमाडौं उडे ।

चन्द्रगढी विमानस्थलको फराकिलो धावनमार्ग ।

धावनमार्गको स्तरोन्नति र विस्तार

चन्द्रगढी विमानस्थल साघुँरो थियो । पूर्वतर्फ जग्गा अधिग्रहण गरी उनले विमानस्थलको जमिन विस्तारमा योगदान दिए । स्थानीयसँग मुआब्जाको विवाद निकै चर्को थियो । बलले भन्दा बुद्धिले काम गर्ने स्वाभाव भएका उनले स्थानीय र सरकार दुबैलाई सहमतिमा ल्याउन सफलता पाए ।

उनले विमानस्थलको क्रङ्क्रिटको धावनमार्गलाई भत्काएर नयाँ र बलियो बनाए । अब पचास बर्षसम्म अहिलेकै धावनमार्गले काम चल्ने भएको छ । दायाँवाया पनि पिच बढाइएको छ । धावनमार्गको स्याल लुक्ने जङ्गल मासेर फराकिलो र सफा बनाइएको छ ।

पूर्वतर्फ आर्मी क्याम्प र सिडिओ कार्यालय हटाएर सो ठाउँमा विमानस्थलको धावनमार्ग विरुतार गर्नुपर्ने महत्वाकांक्षी कार्यक्रम उनकै पहलमा अघि बढ्यो । यो योजना अब कार्यान्वयनको प्रतीक्षामा छ । यति काम भएपछि पूर्व दिशाबाट जतिसुकै बेला उडान भर्न धावनमार्ग पर्याप्त हुनेछ ।

चुडालकै अथक मिहेनतबाट चन्द्रगढी विमानस्थल अन्तराष्ट्रिय मापदण्डको विमानस्थल बन्न योग्य भएको छ । विमानस्थलमा ५ वटा जहाज पार्किङ गर्न सक्ने क्षमता विस्तार गरिएको छ ।

आपतकालीन अवतरण र उद्धारका लागि यस विमानस्थलमा सुरक्षाका उपकरण, साधन र प्रविधिको व्यवस्था मिलाए उनले । यसको डेमो समेत उनले गरेर देखाए ।

विमानस्थलमै दमकल जुटाए । इन्धन भर्ने कार्यका लागि आयल निगमको डिपो राख्न लगाए । आन्तरिक सुरक्षाका लागि अत्याधुनिक प्रविधिको एक्सरे मेसिन र सीसी क्यामेरा जडान गरे ।

हेरिरहुँ जस्तो बनाए भित्र र बाहिर

उनी आउँदाको समय र उनले छाडेर जाँदाको विमानस्थलमा आकाश पतालको फरक देखिन्छ । विमानस्थल पुग्ने र अवतरण गर्ने यात्रुले विमानस्थल परिसरलाई सुन्दर पार्कको रुपमा देख्न सकिने अहिलेको अवस्था छ ।

भगवानका सुन्दर मूर्तिहरु राखिएका छन् । मनमोहन फुलहरु फुलेका छन् । बालवालिकाका लागि छुट्टै मनोरञ्जन पार्क छ ।

विमानस्थलको यात्रु कक्ष, प्रतिक्षालय, भीआइपी कक्ष सबैलाई आकर्षक बनाए उनले । पार्क निर्माणमा उनले विभिन्न सङ्घसंस्था र व्यवसायीको सहयोग लिए ।

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
error: content is protected if you want please contact Admin
error: content is protected if you want please contact Admin