हिंसा रोक्न सामाजिक एकताबद्ध प्रयासको खाँचो

  प्रकाशित मिति
२० मंसिर २०७७, शनिबार १९:३१


मेचीनगर, २० मंसिर । महिला हिंसा अन्त्यका लागि सामाजिक रुपमा एकताबद्ध प्रयासको खाँचो रहेको आज यहाँ आयोजित छलफल कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

प्रगतिशील युवा क्लव र नयाँ विहानी आमा समूहले ‘लैङ्कि हिंसा, चुनौती र नियन्त्रण’ विषयमा संयुक्त रुपमा आयोजना गरेको एक दिवसीय अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा आएको हो ।

मेचीनगर नगरपालिकाका प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले ठूला हिंसाको घटनाले मात्र चर्चा पाउँदा समाजमा साना तर धेरै मात्रामा भइरहेको हिंसा छायामा परेको बताए ।

उनले हिंसाका दोषीलाई मेलमिलाप होइन, दण्डित गर्नुर्पे आवश्यकतामा जोड दिदै महिलाको हक र अधिकारका लागि स्थापना भएका संस्थाहरुमा नेतृत्व परिवर्तन गर्दा नयाँ सोच र ऊर्जा प्राप्त हुने सुझाव समेत दिए ।

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश कमिटीकी कोषाध्यक्ष अम्बिका भण्डारीले अहिले पनि वंश चलाउन छोरा नै चाहिने पितृसत्तात्मक चिन्तनका कारण समाजमा महिला अपहेलित र हिंसामा पर्ने गरेको बताइन् ।

उनले छोरीमाथि सानैदेखि बढी दमन र निगरानी गरिएका कारण महिलाहरुले व्यक्तित्व विकासका लागि आत्मनिर्णयको अधिकारबाट वञ्चित हुनुपरेको जनाउँदै यसबाट पुरुष हावी रहेको हाम्रो जस्तो समाजमा महिलामाथिका हिंसालाई सामान्य रुपमा लिइने गरेको गुनासो व्यक्त गरिन् ।

अर्की वक्ता एवम् महिला अधिकारकर्मी सरस्वती सिटौलाले पारिवारिक बेइज्जत हुुने भनिएका कारण अझै पनि थुप्रै जघन्य हिंसाका घटना लुकिरहेको र यसबाट अपराधीहरु जोगिने गरेको बताइन् ।

महिलाहरु आफै पनि अधिकारका लागि जागरुक हुन सके समाजका हिंसा गर्नेहरु हतोत्साही हुने उनको धारणा थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी सहायक निरीक्षक हेमन्त रिजालले हिंसा कानूनी रुपमा दण्डनीय भएको हुँदा कसैले पनि यसलाई प्रश्रय दिन नहुने बताए ।

प्रगतिशील युवा क्लवका अध्यक्ष विशाल कार्कीको अध्यक्षता र मेचीनगरका प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागीहरुबीच छलफल र वक्ताहरुसँग प्रश्नोत्तर समेत गरिएको थियो ।

त्रिफला राष्ट्रिय पुस्तकालयमा भएको कार्यक्रमको सञ्चालन सुजन घिमिरेले र स्वागत दुर्गा खनालले गरेकी थिइन् । नयाँ विहानी आमा समूहकी अध्यक्ष कमला बुढाथोकी, अनिल पौडेल लगायतका अतिथिहरुको समेत सो अवसरमा उपस्थिति थियो ।

लैङ्कि हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत आयोजित सो कार्यक्रम सुरु हुनु अघि सचेतना र्यालीले धुलावारी बजार परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज