झ्याउलो

  प्रकाशित मिति
१४ चैत्र २०७७, शनिबार १३:५१


‘खोइ त्यो रिमोट कता छ ?’ लताले सोधिन् ज्ञानेनलाई । बेलुकाको खाना खाएर अब समाचारहरू हेर्ने, बहस–छलफल सुन्ने सुर गरेका बेला उनलाई पत्नीले रिमोटको खोजी गरेपछि भने ठुलो झ्याउलो आइलाग्या जस्तो लाग्थ्यो । आज पनि झ्याउलो आई नै हाल्यो ।

‘आ ! यही हेरौं न !’ ज्ञानेनले झ्याउलो टार्न खोजे ।

‘परेन यो हेर्न ! यिनीहरूका कुरा सधैं यिनै त हुन् नि ! बक् बक् गर्ने हुन् ! अर्को पार्टीलाई के र के भन्ने हुन् ! ‘आफू ठिक ! अरु जति बेठिक !’ त्यति होइन ?’ लताले नेताहरूको ‘राम्रो म’ प्रवृत्तिप्रति दिक्क व्यक्त गरिन् । ‘त्यो रिमोटचाहिं कता लुकाउनुभयो ? खोइ मलाई दिनू त !’ फेरि ढिपी गरिन् ।

‘हेर न ऊ काङ्ग्रेसमा आफ्नै पार्टीका नेताहरूको खिचातानी ! को प्रधानमन्त्री हुने भनेर कस्तो लड्डी छ ! ठ्याक्कै दुईटा कुकुरको लडाईं एउटै हड्डीमा जस्तै छ । आफ्ना आफ्ना गुट बनाएर दुईटा नेता दुईतिर मच्चिएका छन्, यता अर्को ती दुईटालाई बझाएर ‘ती दुबै होइन, म हुनुपर्छ अब ! पार्टीलाई एक बनाएर लैजान अब मलाई प्रधानमन्त्री बनाउनु पर्छ !’ भनेर कस्सिंदैछ’ लतालाई यस्तै के के भनेर अल्मल्याउन चाहे उनले ।

‘अनि कम्नीस्टको चाहिँ को भयो नि अदक्छे ? ‘पार्टी नै दुई चिरा पार्ने भए यी धुन्धुकारीले !’ भनेर गन् गन् गरेको सुन्थेँ त !’ लताले कम्नीस्ट पार्टीको महाधिवेशन हुँदै गरेको विषय उक्काइन् ।

‘अदक्छे होइन हौ ! अध्यक्ष भन न अध्यक्ष । चुनाव नै होला जस्तो छ अरे । ‘कोभन्दा को कम’ भनेर, राम्रै विरोधी पार्टीलाई भनेको जतिकै भनाभन गर्न थालेका छन् ।’ ज्ञानेनले भने ।

यस्तै बहस चल्दै थियो । रिमोट खोज्दै थिइन् लता । कुरा टार्दै थिए ज्ञानेन । यस्तैमा टिभीले भन्यो ‘ … कम्नीस्ट पार्टीका दुई गुटका कार्यकर्ताहरूबिच आज पुतलीसडक स्थित टाउनप्लाजामा हात हालाहाल भयो । संस्थापन पक्षका लाठेहरूले अर्को पक्षको प्रचार कार्यालयमा आव्रmमण गरेर फर्निचर, कम्प्युटर आदि तोडफोड गरे । दुबै पक्षका ११ जना घाइतेलाई वीर अस्पतालमा भर्ना गरिएको छ । हुलदङ्गामा संलग्न सात जनालाई प्रहरीले पव्रिmएको छ ।’

‘ल सुन्नू त ! यस्ता पनि कम्नीस्ट ! आफू आफू कुटाकुट ! आफू आफू काटाकाट ! थुक्क ! खोइ नहेरौं ! नसुनौं यो रत्यौली ! … रिमोट कता लुकाउनुभयो हौ ?’ लताले अलिक चर्को स्वर गरिन् ।

‘पर्ख न हौ एक छिन ! यति समाचार सकियोस् !’ ज्ञानेनले भने ।

फेरि टिभीले भन्यो– ‘कोइराला पक्षका सांसदहरू मण्डिखाटारमा भेला भएर कोइरालालाई नै प्रधानमन्त्री बनाउनु पर्ने कुरामा दृढ भए । यदि कोइराला हुन नसक्ने अवस्था आएमा काङ्ग्रेसको सरकार नबने केही फरक नपर्ने उनीहरूको तर्क रह्यो । उता अर्को पक्षको पनि कौशलटारमा भेला हुँदैछ । आफ्नो पक्षको नेतालाई प्रधानमन्त्री नबनाउने भए कि अनुपस्थित भइदिने कि ‘फ्लुअर व्रmस’ गरेर अर्कै पार्टीका उम्मेदवारलाई मतदान गर्ने । पार्टी नै दुई फ्याक हुन्छ भने पनि नडग्ने निर्णय गरे ।’

ज्ञानेन र लताका बिचमा रिमोट नदिने र लिएर आफ्नो इच्छामा टिभी हेर्ने ढिपी चलिरहेको थियो । उता टिभी भने आफ्नै धुनमा समाचार भनिरहेको थियो ।

ज्ञानेनले श्रीमतीलाई भने– “होइन, तिमी त बिए पढेकी मान्छे ! मुलुकको राजनीति कता अल्मलिरहेको छ ध्यान दिनु परेन ? हाम्रो देशमा साक्षरता प्रतिशत भर्खर पचास प्रतिशतबाट उँभो लाग्दैछ । त्यसको अर्थ आधा जनता त ‘बिलकान्ने क’ नजान्ने छन् । भन त बिए पास कति प्रतिशत होलान् ? पाँचसयमा एक जना पनि पर्दैनन् होेला बिए पास त ! अझ कति प्रतिशत होलान् महिलाको बिचमा बिए पास ? अब तिमी पनि त्यो हिन्दी फिलिम र सिरियलमा लुटपुटिने हो भने अनि हाम्रो समाज कसरी जाग्ला ?

समाजमा जागरण कसरी आउला ? अझ नारी जातिमाथिको दोहोरो थिचोमिचोको विरुद्ध को बोलिदेला ? भन भन ! तिमीले बिए पास गरेर यसरी नपढेकी जस्तो, एउटी सुधी अबला महिला जस्तो, हिउँदको घाममा छानामा छाउरालाई दुध खुवाएर सुतेको बिरालो जस्तो हुन मिल्छ ? हेर लता ! त्यो बिएको प्रमाणपत्र ग्रहण गर्दा तिमीले आफ्ना हातमा एउटी शिक्षित, सचेत महिलाको दायित्व पनि ग्रहण गरेकी छ्यौ ।’ उनले लतालाई मानौं भाषण सुनाए ।

‘ए तपाईं त खुब धाराप्रवाह भाषण छाँट्न पो थाल्नुभयो । भनेको बेला तातो चिया टेबलमा आइपुगेन भने यो भाषणको मस्र्याङ्दी कस्तो डरलाग्दो गड्गडाउँछ ? नचिनेको बराजु हुनुहुन्छ तपाईं ! मरुभूमिको साँपको कुरा सुन्नुभएको छ नि ! अगाडि जाँदाजाँदै त्यता जान अफ्ठेरो आयो भने थपक्कै विपरीत दिशातिर हिड्छ अरे । टाउको कता पुच्छर कता छुट्याउन सकिँदैन अरे । त्यस्तै होइन र पारा तपाईंको ?’ लताले पनि बहसमा जमेजतिकै गरिन् ।

‘होइन, अधिकार त खोसेर लिने हो नि लता ! हो कि होइन तिमी नै भन त ! खोस्ने कुरा सजिलो पनि होइन नै । बलियाले अँठ्याएको वस्तु खोस्न लुला ल्याङ्ग्राले बल पनि पुर्याउनु पर्छ, अक्किल पनि लगाउनु पर्छ । हामी बुझ्छौं बलभन्दा बुद्धि ठुलो हुन्छ । त्यसकारण हेपिएका, अधिकार खोसिएकाले हरपल, हरक्षण कसरी हक अधिकार लिन सकिन्छ चिन्तन त गर्नुपर्यो नि ! मस्र्याङ्दी गड्गडाउँदैमा परपरै भागेर त यसलाई पार गर्ने पुल बन्दैन नै ।’ ज्ञानेनले कुरा पनि भन्दै टिभीतिर आँखा पनि लाउँदै गरे ।

‘टिभी त तपाईं पनि हेरिरहनुभएकै छ । आफ्नो इच्छा पूर्ति गर्ने अनेक तर्क, अनेक जुक्ति ! ठिकै छ हेर्नू ! धित मरुञ्जेल हेर्नू !’ लताले धुर्की लगाएको स्वरमा भनिन् र विस्तरामा घुस्रिने छाँट गरिन् । यस्तै बेलामा टिभीले भन्यो– ‘शीतलहरले पुर्वी तराईका गाउँवस्तीमा नराम्ररी प्रभाव पार्यो । सरकारले दाउरा र कम्बल बाँड्ने कुरा त गर्यो तर पुर्याउन सकेको छैन ।

चिसोले बुढाबुढी र केटाकेटी विमारी परेर स्वास्थ्य केन्द्रमा चाप पर्न थालेको छ । आजसम्म चिसोका कारण मर्नेको सङ्ख्या ३६ पुग्यो । महोत्तरीमा यसै विषयमा सर्वसाधारणलाई शीतलहरले पुर्याएको असर वारे हामीले सोधेका थियौं– ‘कसरी जोगिँदै हुनुहुन्छ चिसोबाट ?’ सुनौं उहाँहरूको उत्तर उहाँहरूकै मुखबाट जस्ताको तस्तै–

एक जना अधवैंशे किसान – ‘अब के गर्ने ? घुर तापेर तापेर रात बितानै पड्यो । अब घर में ओड्नुको लागि कम्बल टम्बल त बच्चाबच्चीको दिनु यै पड्यो !’ अर्का किसान– ‘दिन में घाम देखिन्छ त अलिक सजिलो यै छ, नहीं देखिन्छ तो मरन छ । रात भी चिसो, दिन भी चिसो होएपछि त मरन्छ !’

एक आमा– ‘के जोगिन्छ ? अब जोगिन्देन ! अब त मरन्छ कि जस्तो छ । बुढो बाप थियो त तिनों दिन भोयो, मरिगयो । अब जोगिन्देन ! सरकारको त के पता छ, चिसो छ कि तातो छ ? यस्तो कुरा सोधेर हामरो को के हुन्छ ?’ एक बुढी आमा– ‘के जोगन्छ ? ऊ दुठो बच्चा त हास्पाताल छ । अब हास्पाताल से आउन्छ कि उतै से बिदा हुन्छ ! को भन्नु सक्छ ? यस्तै छ तो !’

एक विद्यार्थी– ‘स्कुल त बन्द भयो नि ! बरु स्कुलमा साथीसँग खेलन्दा, उफ्रिन्दा सजिलो ! घर मे चिसो । खुप चिसो !’ एक युवा– ‘तपाईं हाम्रो को के सोधन्छ हो दाजु ? गए साल त अलिक लकडी दियो, कम्बल टम्बल दियो । यो साल त दियो ना !’

यो समाचार सुनेपछि भने लतालाई अर्कै पाराको रिस उठ्यो । यता जनताको हालत यस्तो, जनताका नाममा राजनीति गर्नेहरूको पारा उस्तो । त्यसैले उनले भनिन्– ‘के महिलाका कुरा गर्नुहुन्छ ? सुन्नुभयो जनताको कुरा ? खुप आफूलाई अब्बल कम्नीस्ट ठान्नुहुन्छ ! जनता जाडामा घुर तापेर न्यानो खोज्दैछन् । त्यही घुर ताप्नसम्म नपाएर ३६ जना मरे । मर्ने त मरे नै, तर तिनको व्रिmया वार्नेको हविगत के होला ?

माथि तपाईंका गरिबका मसिहाहरू जनताको जाडो छल्न होइन आफ्नो घुम्ने कुर्सीका लागि आफैं कमरेड–कमरेड बिच उत्तर कोरिया र दक्षिण कोरिया भएका छन् । अर्कातिर प्रधानमन्त्रीका लागि अखाडाका पहलमान झैं कुस्तीमा मग्नलाई थाहा छ जनताको यो हविगत ? प्रधानमन्त्रीको कुर्सीमा बस्न, अध्यक्षको कुर्सीमा बस्न अर्जुन दृष्टि लगाएर हिरिक्क भएकाहरूलाई ती भर्खरै चिसोले मरेका ३६ जनाको त्यो मरणान्त हालतको मालुम होला ? तिनले मर्नु अलिक अगाडिसम्म पनि आफ्नो पसिना यी खलिफाहरूलाई चढाउँथे भन्ने तिनलाई थाहा होला ?’ लताले पनि अहिले लामै कुरा कड्किने स्वरमा भनिन् ।

‘अँ ! तिमीले यो हृदयदेखि नै भनेकी हौ भने त राम्रै कुरा भन्यौ’ ज्ञानेनले भने । उता टिभी चाहिं कालाबजारीले जनतालाई पारेको पिर, कृत्रिम अभाव सिर्जना गरेर ग्यासको दाम बढाउँदै एउटा ठुलो सङ्कट सिर्जना गरेको कुरा भनेर समाचार टुङ्ग्याउँदै थियो । समाचार सकेर विज्ञापनमा झुम्मियो । विज्ञापनमा झुम्मिएपछि टिभी पनि राम्रै ‘उठे सगरसम्म बसे गजधम्म’ भने झैं गर्छ । विज्ञापनमा झुम्मिएपछि मातेको मान्छेले रेला गर्न भेटेको झैं के र के भनेको भन्यै गर्छ, रेला गरेको गरेकै गर्छ ।

अर्कातिर ज्ञानेनलाई ‘आज के वार हो ? आज यस टिभी च्यानलले समाचारपछि के कार्यव्रmम दिन्छ ?’ सम्झना नै रहँदैन, उनलाई आसा मात्र हुन्छ, अब पक्कै कुन नेतालाई घुम्ने कुर्सीमा ढ्यास्स बसाउँछ । उनी नेताका छरिता कुरा सुनेर मख्ख पर्न चाहन्छन् ।

उनलाई के थाहा ? उता नेता सेलुन–सेलुन या कुनै मान्छे सिँगार्ने पसलमा पसेर आफ्नो कालो जति धोएर, चाउरी मुजा जति छोपेर, बुढ्याइँ जति लुकाएर आएको हुन्छ । शायद टिभीवालालाई कति पैसा दिएर आफूलाई बोलाउनू र यो यो प्रश्न सोध्नू भनीओरी ती प्रश्नका उत्तर आफ्ना पिए आदिबाट छाँट पारेर लेखाईओरी याद गरेर आएको हुन्छ । झुक्किएर तोकिएका बाहेक कुनै नयाँ प्रश्न सोधिएमा वा प्रश्नले नेताजीका ‘घाँटीमा फुरौला अड्के’ भएमा भने अनि रिसारिस पर्न सक्छ टिभीवालासँग ।

उता ज्ञानेनलाई आफ्नो मुखबाट फुत्केको प्रश्नले लतालाई के प्रभाव पा¥यो थाहै थिएन । तर यता लताको भने मनको ज्वालामुखीलाई बिथोलेको थियो उनको प्रश्नले । त्यसैले लता बोलिन्– “के ? मेरो कुरा हृदयदेखि भनेको जस्तो छ कि ओठे कुरा जस्तो छ ? प्रथमा हृदय नै नभएका, यस्ता नक्कली कुराका राजनीतिक ढाकर बोकेर हिडिरहनेहरूले के बुझ्नु कुन कुरा हृदयबाट निस्किन्छ र कुन कुरा ओठबाट ? जनता चिसोले कठ्याङ्ग्रिएर आगो ताप्नसम्म पनि नपाएर मर्दैछन्, एउटा कम्बलबाट जोगिनसम्म नपाएर मर्दैछन् ।

वातानुकूलित महलमा बस्ने नेताजीहरूलाई यो बेला कसले बालुवाटारको बाजी जित्ने हो उछिनपाछिन छ ! अनि मेरो कुरा ओठबाट कि हृदयबाट के थाहा होस् तिनका लाङ्ग्री भएका तलका कार्यकर्तालाई ! कृपया मेरो कुराले तपाईंलाई पेच नपरोस् है ! … कठैवरी कम्नीस्ट नेताजी ! कम्नीस्टको नेता हुन हृदय भएको मान्छे हुनुप¥यो क्या हृदय भएको ! नभए राजनीति नै गर्ने हो भने कम्नीस्ट हुनु किन पर्यो ? कम्नीस्ट हुनु भनेको छक्कापञ्जा होइन, छलकपट होइन, कुटनीति पनि होइन, यथार्थमा जनताको पक्षमा चट्टान जस्तो अडान लिनु हो क्या !’ लताले पनि अहिले भने भाषण नै दन्काइन् ।

ज्ञानेनलाई अहिले चाहिं श्रीमतीजीको कुराले निकै ततायो । उनमा पनि पुरुषत्वको भाव त थियो तर पनि समय समयमा आफूलाई सिंहावलोकन गर्दै आफूलाई बदल्न कोसिस गर्दै आएका थिए । अहिले संयमित स्वरमा बोले– ‘आज चाहि. तिमीले अब अखडामा भिड्ने भनेर पाखुरामा, तिघ्रामा तेल मालिस गरीवरी भिडे जस्ती छ्यौ । तर्कमा, बहसमा तिमीलाई सहजै जित्न सकिंदैन भनेर मैले जानेकै हुँ । अब तिम्रा र मेरा कुराले नेताहरूको सुुद्धिबुद्धि फेरिने होइन । अब हामीले पनि उनीहरूकै जस्तो लडाईं गर्नु ठिक होइन, त्यसकारण सहमती गरौं ! भन ! तिमी नै, टिभीमा एक छिन बहस हेरौं ?’

नौ बज्न लागेको थियो । टिभीले सायद अब बहस दिंदो हो । ज्ञानेनलाई टिभीमा कुन नेतालाई बहसमा बोलाउँछ जिज्ञासा पनि थियो । ‘काङ्ग्रेसकै कुनै नेतालाई ल्याउँछ कि कम्नीस्टका नेतालाई ल्याउँछ ? धेरैजसो त काङ्ग्रेसकै नेतालाई ल्याउँछ टिभीले, त्यसकारण आज पनि त्यसकै कुनै नेतलाई ल्याउला !

त्यस्तो तार्किक नेता परेन भने लताको कुरा मान्ने’ यस्तो सोच पनि थियो उनमा । तर लताले भनिन्– ‘छ–सात वर्ष भयो, तपाईंका नेताहरूले केही नयाँ कुरा बोलेका छन् ? त्यही सुगा रटान, त्यही सुगा रटान ! होइन ! दिक्क लाग्दैन तपाईंलाई ? तरकारी त दुई–तीन छाकभन्दा बढी एउटै दोहोरिनु नहुने तपाईंलाई यी नेताको एकनासको सुगा रटानबाट दिक्क नलागेको देखेर चाहिं म छक्कै परें ।’

‘त्यस्तो सारो त होइन लता ! नेताहरूलाई त्यति सारै भन्न त हुँदैन नै भन्ने कुरामा म अहिले पनि पक्कापक्की विश्वास गर्छु । तर पनि जनतामा निरास जाग्ने स्थिति बनेको कुरा भने भएकै हो, नेताहरूबाट साँच्चै सर्वथा नौलो कुरा, देशका लागि नयाँ महत्त्वको कुरा भन्न र गर्न नसकेको कुरा पनि हो भन्ने कुरामा दुई मत छैन । तर अघि पनि मैले भने, तिम्रो र मेरो सुझाव या कुराले नेताहरूलाई बदल्न सकिने पनि होइन । त्यसकारण यति धेरै भावुक बन्नु हुँदैन ।’ ज्ञानेन मत्थर भए, पराजय स्वीकार गरे जस्ता भए ।

‘फेरि पनि तपाईंको यो कुरासँग भने म सहमत छुइन । ‘हाम्रा कुराले, हाम्रा सुझावले नेताहरूलाई बदल्न सकिँदैन’ । यस्तो सोच हामीले कदाचित बोक्नै हुँदैन । मेरो कुराले नेता बद्लिनु पर्छ, सच्चिनु पर्छ भन्ने नै हामीले धारणा बनाउने हो ।

होइन भने नेता के आकासबत्ती हुन् त ? ती जनतालाई हेरेर बद्लिंदैनन् भने तिनलाई जनताले त्याग गर्नु पर्छ । मेरो कुरा यो हो । तपाईंको सोच बुझेर नै नेताहरु यो गतिका भएका हुन्’ लताले भनिन् र सिरक तानेर बिस्तरामा अब सुत्ने तर्खरमा लागिन् ।

ज्ञानेनले घडी हेरे । दस बज्न आँटेको रहेछ । उनले पनि अब बहस या छलफल कुनै सुनौं हेरौं लाग्ने
कार्यक्रम आउने समय बितेको ठाने । उनले रिमोट लतालाई दिंदै भने– ‘लु त लु ! नरिसाऊ ! अब तिम्रो पालो । हेर ! के हेर्ने हो ।’ ‘भैगो ! अब आज तपाईं नै रहर पुगुञ्जेल हेर्नू ! म अब सुत्छु !’ लताले मुख छोपिन् । पुस महिनाको चिसोले सिरक अति प्यारो छँदै थियो ।

लेखक : पुण्यप्रसाद खरेल

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज