मान्छे र रोबोटको प्रेमकथा ‘कान्छी’

  प्रकाशित मिति
२० चैत्र २०७७, शुक्रबार १९:११


पढ्न त यथार्थपरक पुस्तक पढ्न मन पर्छ, अझ आत्मकथा मेरो रोजाइको विधा हो पढ्नका लागि तर पछिल्लो समयमा एउटा काल्पनिक पुस्तक पढें ।

यस्तै खालको अर्को उपन्यास पाँच सात वर्ष पहिला पनि पढेकी थिएँ । साहित्यकार मुक्तिप्रसाद उपाध्यायको ‘मालती’ उपन्यास हो मैले पढेको उपन्यास । मालती एउटा विज्ञानपरक वाल उपन्यास हो । उपन्यासमा मालती रोवोट पात्र राखिएको थियो । यसरी विज्ञानलाई उपन्यासमा समावेश गरिएको पहिलो उपन्यास पढेकी थिएँ मैले मालती ।

साह्रै चाख लागेर पढें, दुई पटक सम्म पढें । वालमनोविज्ञान प्रयोग गरिएको, वालवालिकाले पढ्नै पर्ने पुस्तक लाग्यो त्यो उपन्यास । यदाकदा प्रसङ्गहरुमा कुरा गरिरहने कृति वन्यो त्यो मेरा लागि । पछि त्यस उपन्यासले भारतको साहित्य अकादमी बाल साहित्य पुरस्कार(२०१५) प्राप्त गर्यो । त्यसपछि मुक्तिसरसँग कहिलेकाहीं भेटघाट भइरहे तापनि उहाँका कृतिहरु भने पढेकी थिइन । पछिल्लो समय ‘डा.द्रोणकुमार उपाध्याय स्मृति ग्रन्थ’ प्रकाशनका क्रममा डा.भीमकान्त उपाध्यायसँग अन्तर्वार्ता लिनका लागि सिलगढी माटिगाडाहाट पुगेको समयमा उहाँले फेरि आफ्ना अन्य केही पुस्तकहरु हातमा राखिदिनु भयो ।

द्रोणसरको स्मृति ग्रन्थ प्रकाशनको धमाधमले ती पुस्तकहरु घरमा ल्याएर थन्क्याउने मात्र काम भयो, पढ्न भ्याइएन । आजभोलि समय तुलनात्मक रुपमा केही फुर्सदिला भएका छन् । त्यसैले त्यसवेला थन्क्याएर राखेका पुस्तकहरु खोतल्न मन लाग्यो । सबैभन्दा पहिला नै मुक्ति सरका पुस्तकहरु देखापरे । ती मध्ये पनि हेर्र्दै जाँदा ‘कान्छी’ नामक पुस्तकको तलतिर लेखिएको ‘विज्ञान उपन्यास’मा आँखा पुग्यो र आँखाले अरु केही खोज्दै खोजेन । विज्ञान उपन्यासको छाप परेको मनमा विज्ञान उपन्यासले तान्नु स्वभाविक नै थियो । कान्छीलाई हातमा लिएर सोफामा लिएर ढल्किएको बेलुकाको दुई घण्टा र भोलिपल्ट वेलुकाको तीन घण्टा पढ्दा सबै उपन्यास नै पढिसकियो ।

मैले थोरै पुस्तक मात्र यसरी जम्मै पढिसक्छु । कुनै सुरु गरेर छाड्छु, कुनै आधा पढेर छोड्छु, कुनै अन्त्य गर्ने बेलामा छोड्छु । कुनै कुनै मात्र यसरी जम्मै पढ्छु । मालती जवर्जस्ती पढ्नु परेन । यसमा अरु उपन्यासमा जस्तो प्रेमी प्रेमीका बीचको प्रेम सम्बन्ध छैन, मान्छे र रोबोट बीचको सामान्य प्रेम र प्रेमी प्रेमीका बीचको प्रेम छ । अन्य उपन्यास भन्दा विषयवस्तु, घटना र पात्र पनि फरक परेर हुनसक्छ सुरु गरेपछि नसकिउन्जेल पढिरहनै मन लाग्यो ।

उपन्यास यस्तो छ – कृष्ण सुवेदी नामका पात्रलाई आफ्नी आमाको स्याहार सुसार गर्नका लागि र घरका सारा काम गर्नका लागि मान्छे चाहिएको छ । पहिला राखेका कामदारहरुले घरमा भएका सम्पति चोरेर भागेकोले जोसुकैलाई राख्न पनि नचाहिरहेको अवस्थामा उसको साथी सूर्य वरालले उसलाई ऋमारवि फ्याक्ट्रीका सञ्चालक हात्तिबाबा अर्थात विवेकसँग परिचय गराइदिन्छ । ऋमारवि रोबो फेक्टरीले मानव समाजका लागि रोबोट तयार पारिरहेको छ । विवेकबाटै उसले कान्छी र प्रसाद नामका दुई महिला र पुरुष शरीरका रोबोट भाडामा लिन्छ र घर लिएर जान्छ ।

कान्छी एक अत्यन्तै सुन्दरी महिला शरीरकी रोबोट, उसमा घरमा आमाको सुसारेका लागि तयारी गरिएको हुन्छ र प्रसादलाई भान्सा तथा घरका अन्य कामहरुका लागि तयार पारिएको हुन्छ । कान्छीलाई घरमा लिएर आएदेखि नै आमाको स्याहार सुसार गर्छे । खुट्टा माडिदिन्छे । मान्छेजस्तै बोल्ने, व्यवहार गर्ने कान्छीलाई कसैले पनि रोबोट हो भनेर शंका गर्न नसक्ने गरी बनाइएको हुन्छ । प्रसाद पनि आए देखि नै घर भान्साका काममा व्यस्त हुन्छ । आमालाई कान्छी रोबोट हो भन्ने थाहा दिइँदैन । कान्छीका कारण आमाका दिन फिर्छन् । गाडी लिएर बजारतिर जाने, मन्दिर, हस्पिटल सबैतिर जाने गर्छे कान्छी । आफन्तका बिहेबटुलामा, गाउँतिर सबैतिर गएर सबैको मन जित्न सफल हुन्छे कान्छी ।

कृष्ण एक अविवाहत युवक हुन्छ । महिला आकृतिकी कान्छी रोवोटसँग सधैं उठवस गरिरहँदा, व्यवहार गरिरहँदा धेरै पटक कृष्ण रोबोट कान्छीसँग आकर्षित हुन्छ भने यता कान्छीले विभिन्न समयमा माया प्रेम तथा अन्य विषयमा जिज्ञासा राखिरहन्छे कृष्णसँग । एकपटक गाउँपुगेर फर्किँदा उसले कृष्णसँग प्रेमगर्छु भनेर आफ्नो प्रेम व्यक्त गर्छे । कृष्ण छक्क पर्छ । ‘तिमी रोबोट हौ तिम्रो र मेरो प्रेम सम्भव हुँदैन’ भन्दा कान्छीका आँखामा आँसु देखिन्छन् । त्यसको अर्को दिन नै कृष्णले कान्छीलाई विवेक(ऋमारवि फ्याक्ट्री)भए ठाउँमा पु¥याउँछ र भएका सबै व्यहोरा सुनाउँछ । केही दिन अध्ययन गरेर हेर्ने, के कारणले त्यस्तो भएको हो ? भनेर कान्छीलाई त्यहीं राखेर पिङ्की नामकी अर्की रोबोट केटीलाई साथ लगाएर पठाउँछन् ।

पिङ्कीसँग आमा खुसी हुन्नन् । कान्छीको हँसिलो अनुहार र फस्र्याइलो व्यवहारले खुसी बनेका आमा र कृष्णकी दिदी मेघा अह्राएको मात्र काम गर्ने र नहाँस्ने पिङ्कीदेखि खुसी हुँदैनन् । कान्छी रोबोट हो भनेर कसैलाई थाहा नदिएको कृष्णले कान्छीकी आमा विरामी भएको कारण आमालाई हेर्नका लागि लगिदिएको भनेर ढाँटेर ऋमारवि पुराएको हुन्छ । केही समयपछि कृष्ण आफैं गएर पिङ्कीलाई पुर्याएर कान्छीलाई लिएर आउँछ । कान्छी आमाहरु भेटेपछि खुसी हुन्छे आमाहरु पनि कान्छी भेटेपछि मख्ख पर्छन् । कान्छी रोबोट हो भन्ने कुरा थाहा नपाएकी आमाले रोबोट हो भनेर थाहा पाउँदा मानसिक असर पर्न सक्छ, सम्हाल्न सकिँदैन भनेर पटक पटक कृष्णले आमाबाट रोबोट कान्छीका सम्बन्धमा कुरा लुकाउँछ ।

फेरि लिएर आएपछि पनि कान्छीमा कृष्णप्रति प्रेम रहिरहेकै हुन्छ । कृष्णकी दिदीको बच्चा जन्मिएपछि उसले पटक पटक म पनि बच्चा जन्माउँछु भनेर कृष्णका सामु जान्छे, बच्चा कसरी हुन्छ भन्ने कुरा कान्छीको मेमेरीमा नभएकोले कृष्णलाई जिज्ञासा राखिरहन्छे । कृष्णमा पनि कान्छीशरीरप्रति आकर्षण भइरहन्छ । एकपटक कृष्णले सपनामा प्रेमीका रन्ध्रतासँग रमाइरहेको समयमा कान्छीले आएर उठाउँछे । सपनामा रोमान्चित भइरहेको कृष्ण विपनामा कान्छी छेउमा पाएपछि आफूलाई सम्हाल्न नसकेर कान्छीलाई अँगालेर अनुहारभरि चुम्बन गर्छ ।

समय वित्दै जाँदा कान्छीले मन जित्दै जान्छे आमाको । एकदिन आमाले कृष्णलाई पूजागर्ने ठाउँमा बोलाएर सपनामा शंकर भगवानले कान्छीसँग तेरो छोराको विवाह गरिदे भन्नुभयो भन्दै कान्छीसँग विवाह गर्नका लागि कर गर्छिन् । कृष्णले धेरै युक्तिसाथ त्यो अवस्थामा आमाबाट छुटेर वाहिर निस्क्यो । त्यसपछि यस विषयमा आफ्नी प्रेमीका रन्ध्रता उसकी दिदी दमयन्ती, साथी सूर्य तथा विवेकसँग पनि कुरा गर्यो । सबैले कान्छीलाई पनि सँगै राखेर सम्झाउनु पर्छ भनेपछि । घरभन्दा बाहिर सबैका साथमा कान्छीलाई राखेर सम्झाए । तिमी रोबोट हौं … भन्दै ।

कान्छीले पनि हो म रोबोट हुँ, मसँग मान्छेको जस्तो माया गर्ने मन हुँदैन भन्छे । उसले दुखी बनेर त्यसो भनेकी थिइन । भोलिपल्ट विहान आमाले पूजागर्ने बेलामा कान्छीलाई खोजिन् । कान्छी कहीं थिइन्, घरवरिपरि, घर वाहिर, आफन्तकोमा, कान्छीसँगै गाडी पनि थिएन । कतै नभेटिएपछि विवेककोमा फोन गर्छ कृष्णले, सवै व्यहोरा सुनाउँछ । विवेकले कान्छीको जीपीएस जाँच गर्छ । त्यसमा कान्छी राति तीनबजे भानुटार डाँडासम्म पुगेको ट्रेस हुन्छ । त्यसपछि कुनै रेकर्ड कम्प्युटरमा नभएको जानकारी गराउँछ । पुलिसलाई पनि खबर गर्छन् । सबै भानुटार डाँडा पुग्छन् । त्यहाँ पुग्दा गाडी डाँडाबाट तल झरेको र गाडीमा आगलागी भएको देखिन्छ । पुलिसलाई कान्छी रोबोट हो भनेर जानकारी थिएन । पुलिसले आफ्नो काम गर्छन् ।

यता विवेकले कान्छी गाडीमा नभएको कुरा गरेर कान्छी गाडीमा भएदेखि उसको मेटेलिक शरीरको अवशेष त्यहीँ भेटिनुपर्ने हो भन्छ । कान्छी जस्ता रोबोटलाई कि त फ्याक्ट्रीले, कि त उनीहरु आफैंले आफूलाई नष्ट गर्न सक्छन् भन्ने कुरा स्पष्ट पार्यो । त्यसो भए आफूले भनेजस्तो नभएपछि, रीसमा अरुलाई हानी गर्नुको सट्टा कान्छीले आफैंलाई नष्ट गरिदिएको पुष्टि हुन्छ । कृष्णसँगको प्रेममा परेकी कान्छी रोबोटले आफ्नो प्रेम नबुझेको कारण आफूलाई नै नष्ट गरिदिन्छे ।

यसरी कान्छी एक मानव र रोवोट बीचको प्रेम सम्बन्धको वियोगात्मक प्रेमकथा हो । वर्तमान भन्दा पनि भविष्यको रोबोट समाजको चाहना राखेर लेखिएको कान्छी विज्ञान उपन्यास अत्यन्तै चाखलाग्दो र सफल भएको छ । तर पढ्दै जाँदा धेरै कुरा खड्किन्छन् कथामा । रोबोट भएपनि उसलाई कुनै सामानद्वारा बनाइएको छ । उसका शरीरका पार्टपूर्जा बिग्रिनुपर्ने हो, भत्किनु पर्ने हो, भाँचिनु, कोत्रिनु पर्ने हो, कहिलेकाहीं चार्ज सकिनुपर्ने हो, कहिले आवाज सानो ठुलो हुनुपर्ने हो, कहिले न कहिले त आमा, दिदीहरुलाई किन मान्छे जस्तो छैन भन्ने शंका लाग्नु पर्ने हो । तर त्यस्तो कहिल्यै कसैलाई लाग्दैन ।

शारीरिक रुपमा रोबोटमा कहिल्यै समस्या देखाइएको छैन । अर्को कुरा आँसु आउने कुरा । कसरी भाव अनुसार आँसु आउँछ रोबोटमा ? तर यस विषयको समाधान दिएका छन् पछि विवेकले चित्त बुझ्नेगरी आँशु आउनाको कारण पनि बताएका छन् । यसरी काल्पनिक भएपनि पढ्न मन लागिरहने एउटा उपन्यास पाएँ कान्छी उपन्यास ।

लेखक : खगिन्द्रा खुसी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज