वडाको मुहार फेर्छौँ : वडाध्यक्ष थापा

  प्रकाशित मिति
१३ बैशाख २०७८, सोमबार ०८:५२


।। डम्बर बराल ।।

मेचीनगर, १३ वैशाख । स्थानीय तहमा जनप्रतिनिधिहरु जितेर आएपछि वडा वडामा विकासका कामहरु तिव्र रुपमा भइरहेका छन् ।
झापाको मेचीनगरमा पनि विकासका कामले तिव्रता पाइरहेको छ । मेचीनगरको पन्ध्र वटा वडामै विकास निर्माणका कामहरु क्रमागतरुपमा धमाधम भइरहेका छन् ।

यसैक्रममा मेचीनगर वडा नम्बर ५ मा पनि विकासका कामहरु भइरहेको जा ेकोहिले प्रत्यक्ष अवलोकन गर्न सक्छन् । पछिल्लो समय मेचीनगर–५ को मुहार फेरिदै गएको छ । जननिर्वाचित प्रतिनिधि नहुँदा २० वर्षसम्म कछुवाको गतिमा अघि बढेको विकास निर्माण अभियानले विगत ४ वर्षदेखि तीव्रता लिन थालेको छ ।

भौगोलिक रुपमा अलिक विकट वडाको रुपमा रहेको यस क्षेत्रमा धेरै पुल पुलेसा तथा ग्राभेलसडक निर्माण भइसकेका छन् । अन्य वडाको तुलनामा यस वडामा धेरै खोल्सा खोल्सी तथा साना खोलाहरु भएको कारण वडाले ठूलो बजेट पुल पुलेसामै खर्चनु परेको वडाध्यक्ष योगेन्द्र थापा मगरले बताए ।

‘हामी जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएसँगै वडाको विकासमा निरन्तर सक्रिय भएर लागेका छौं’,वडाध्यक्ष थापाले भने–‘अघिल्ला आर्थिक वर्षहरुमा अँधेरी खोला, घैलाडुब्बा खोला, अम्लीसे र आङ्देम्बे खोल्सीमा पुल निर्माण गरेका छौं । योसँगै विभिन्न क्षेत्रमा ९ वटा कल्भट समेत निर्माण सम्पन्न भइसकेको छ ।’

मापदण्ड पुरा भएका वडाका ३३ किमि सडकमध्ये करिव ३० मिलोमिटर सडक ग्राभेल तथा स्तरोन्नती गरिएको र बाँकी ३ किलोमिटर सडक यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने उनको भनाइ छ । वडाले मुख्य सडकमा सडक बत्तिको समेत व्यवस्था यसै आर्थिक वर्षमा सम्पन्न गरेको छ । भित्री सडकमा आगामी आर्थिक वर्षमा सडक बत्तिको व्यवस्थापन गर्ने वडाको योजना रहेको उनले बताए । विकट वडा भएकै कारण कतिपय टोलमा टेलिफोन सेवा भने अझै पुग्न सकेको छैन ।’

वडाले अघिल्लो आर्थिक वर्षबाट वडा बजेटबाटै भएपनि कालोपत्रे सडक निर्माण सुरु गरेको छ । सुरेन्द्रनगर मार्गको पिपल डाँडादेखि दोकानडाँडा सम्मको ३ किमि सडक क्षेत्रमा कालोपत्रे निर्माणको कामलाई तीव्रता दिएको वडाध्यक्ष थापाले बताए । उनले भने,‘अघिल्लो वर्ष सानो बजेटबाट सुरुवात गरियो, यो वर्ष नगर तथा वडाको २ करोड ६९ लाखको बजेटमा कालोपत्रे सडक निर्माण भइरहेको छ । हामी क्रमश वडाका सवै मुख्य सडक कालोपत्र गर्ने सोचमा छौँ ।’

वडाले यसै आर्थिक वर्षबाट कृषि क्षत्रेमा समेत बजेट विनियोजन गरेर कृषकहरुलाई ५० प्रतिशत अनुदानमा धानको र मकैको विउँ उपलव्ध गराउँन थालेको छ भने गोठ सुधार कार्यक्रम अन्र्तगत एक लाख रकम छुट्याएर गोठ सुधार कार्यक्रको सुरुवात गरेको छ । त्यसैगरी चिया कृषकहरुलाई कृषि चुन तथा माटो परिक्षणको लागि समेत ५० प्रतिशत अनुदान व्यवस्था मिलाएको र आगामी वर्षमा थप बजेटको व्यवस्था मिलाइने उनले बताए । यस आर्थिक वर्षमा विकासका लागि वडाले १ करोड ५० लाख रकम प्राप्त गरेको थियो ।

भौतिक पूर्वाधारको विकासमा अघि बढेको सो वडाका सवै टोलमा बिजुली बत्ति उपलव्ध गराइसकिएको र हालै घर विस्तार भएका केहि ठाउँमा थप १०० वटा पोल आवश्यक्ता परेकोले यसै आर्थिक वर्षमा ती क्षेत्रमा बिजुली बत्तिको व्यवस्था मिलाइने वडासचिव यशु लिम्बूले बताए । बिजुली बत्तिको पहुँच नपुगेका क्षेत्रमा रहेका वडावासीहरुलाई वडाले अघिल्लो वर्ष सोलार बत्ति समेत

वितरण गरेकोे उनको भनाइ छ । वडाले सामूहिक कार्यक्रमको लागि दुईवटा सामुदायिक भवन निर्माण सुरु गरेको वडा सचिव लिम्बूले बताए । वडावासीलाई उपचारमा सहयोग पुर्याउने लक्ष्यका साथ वडामा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गरिएको छ । सामान्य प्रकारका बिरामीको उपचार स्थानीयस्तरमै हुने गरेको वडाकी स्वास्थ्य केन्द्रकी प्रमुख धनकुमारी राईको भनाइ छ । उनी भन्छिन–‘सेवाग्राहीहरुलाई सामान्य रोगको उपचार सेवा दिइरहेका छौं ।’

वडाले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ । यसै आर्थिक वर्षमा ३० जना महिलाहरुलाई ३ महिने प्राथमिक स्वास्थ्य तालिम प्रदान गरिरहेको र महिलाहरुलाई स्वरोजगार बनाउँन सिलाई कटाई तालिम समेत प्रदान गर्दै आएको सचिव लिम्बूको भनाइ छ । कोरोना महामारीको समयमा वडाले स्वास्थ्य सचेतना कार्यक्रम मास्क ताथा राहात वितरण कार्यक्रम सम्पन्न गरेको वडाले जनाएको छ ।

केहीवर्ष अघिसम्म खानेपानीको संकट व्यहोर्दे आएका सो क्षेत्रका वडावासी अब भने त्यो समस्याबाट मुक्त भएका छन् । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत सो वडामा शुद्ध खानेपानी वितरण भइरहेको छ । राज्य पुर्नसंरचना भएपछि वडा समायोजन भएसँगै यो वडा थप फराकिलो बनेकोे छ ।

यो वडामा आर्थिक रुपमा कमजोर परिवार र विभिन्न समुदायका मानिसहरुको बसोबास छ । यहाँको मुख्य आम्दानीको श्रोत भनेको धान, मकै तथा चिया नै हो । यस क्षेत्रमा रहेका साना किसानहरुले आफ्नो भएको थोरै जमिनमा चिया खेती सुरु गरेका छन् । भौगोलिक रुपमा अग्ला होचा, डाँडाकाँडा भएको क्षेत्र भएकाले यो क्षेत्रलाई चिया पर्यटन क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना रहेको वडा सदस्य नारायण खड्काले बताए । ‘यो चार वर्षको अवधिमा केही महत्वपूर्ण काम त भएका छन् तर, त्यो पर्याप्त छैन’ उनले भने ।

यो क्षेत्रलाई चिया पर्यटनका रुपमा विकास गर्न सके वडाका लागि आम्दानीको भरपर्दाे आधार निर्माण हुने उनको भनाइ छ ।’ सो वडामा हालै दुईवटा उद्योग समेत सञ्चालन भइसकेका छन् । सुपारीका खवटाबाट विभिन्न सामाग्री निर्माण सुरु भएको छ भने एनएमसीको चिया उद्योग समेत यसै आर्थिक वर्षबाट सञ्चालनमा आएको छ । यसले सो क्षेत्रका युवाहरुलाई स्थानीय स्तरमै रोजगारी समेत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज