किरिया खर्च नै पाएनन् हात्ती पीडितले

  प्रकाशित मिति
२७ जेष्ठ २०७८, बिहीबार १०:४५


मृतक राईकी पत्नी जुनबिरा राई ।

।। अम्बिका भण्डारी ।।
मेचीनगर, २७ जेठ ।
मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको २३ दिन बितिसक्दा समेत स्थानीय ६५ वर्षीय श्याम राईको परिवारले काजकिरिया खर्च पाएका छैनन् ।

मेचीनगर नगरपालिका वडा नं. ९ स्थित सुकुम्वासी बस्तीमा बसोबास गर्दै आएका राईको गत जेठ ४ गते राति हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । नगरपालिकाले जङ्गली हात्तीले मृत्यु भएमा रु. २५ हजार काजकिरिया खर्च उपलब्ध गराउने नियम छ ।

घटना लगत्तै नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती र वडा नम्बर ९ का वडाध्यक्ष गोपाल खड्का घरमै पुगेर तत्काल काजकिरिया खर्च उपलब्ध गराउने आश्वासन दिनुभएको मृतकका माइला छोरा किरण राईले बताए ।

तर, घटना भएको २३ औं दिन वितिसक्दा समेत मृतकका परिवारले नगरपालिकाबाट कुनै राहत पाएका छैनन् । “दिन्छु भनेपछि दिनैपिच्छे वडा कार्यालय र नगरपालिकामा धाइरहेका छौं,” मृतककी जेठी बुहारी सुबिना विश्वकर्माले भनिन्–“अहिलेसम्म पाएका छैनौं ।”

ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका राई परिवार मागुरमाडी सामुदायिक बन बिट नं. १ को छेउमा २२ वर्षदेखि बसोबास गर्दै आए तापनि जग्गाको धनीपूर्जा अझसम्म बनेको छैन । मृतक राईका पत्नी जुनबिरा राई, चार छोरा र एक छोरी छन् ।

मेचीनगरका प्रमुख विमल आचार्यले अझैसम्म मृतकका परिवारले काजकिरिया खर्च नपाएकोमा अनभिज्ञता प्रकट गरे । “उहाँहरुले तुरुन्तै पाउनु पर्ने हो, दिनु पनि भनेको हो,” नगरप्रमुख आचार्यले भने–“के भएको रहेछ बुझेर तुरुन्त उपलब्ध गराउँछौं ।”

स्थानीय नवकिरण टोल विकास संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले काजकिरिया खर्च मृत्यु भएको १३ दिनभित्रै पीडित परिवारले पाउनु पर्नेमा नगरपालिका र वडा कार्यालयबाट ढिलासुस्ती गरिएकोमा गुनासो गरे ।

काजकिरिया खर्च वापत नगरपालिकाले रु. २५ हजार र डिभिजन बन कार्यालय झापाले रु. ५० हजार दिने व्यवस्था रहेको छ । यसका लागि मृतकका परिवारले बैङ्कमा खाता खोलिसकेका छन् ।

मृतककी जेठी बुहारी सुबिना विश्वकर्मा ।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज