छोरो क्वारेन्टिनमा आइपुग्दा – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

छोरो क्वारेन्टिनमा आइपुग्दा

अम्बिका भण्डारी

कोरोना महामारीका कारण विदेशमा रहेका प्रियजनहरु आ–आफ्ना घर फर्किने क्रम जारी छ । साउन १ गते मेरो छोरो पनि आइपुग्यो । केही दिन अघिसम्म अरुका छोराछोरी, बाआमा, काकाकाकी, दाजुभाउजु र दिदीबहिनीहरु भारतलगायत तेस्रो मुलुकबाट फर्किएर क्वारेन्टिनमा बसेको सन्दर्भका समाचार खुब लेखियो, पढियो । पीसीआर टेस्टको रिजल्ट नेगेभिट आएर घर फर्किएको, पोजेटिभ आएर आइसोसेलनका लागि अस्पताल पठाइएको र क्वारेन्टिनमा बस्दाका उनीहरुका समस्याका बारेमा पनि रिपोर्टिङ गरियो ।

यी समाचार लेखिरहँदा मेरो मनमा भने भारतको पञ्जाबमा पढ्न गएको छोरा मौसमको याद सधैं आइरहन्थ्यो । उ कम्प्युटर इन्जिनियरिङको अन्तिम वर्षको परीक्षा दिने तयारीमा थियो । तर कोभिड–१९ का कारण परीक्षा हुन नसकेपछि चार महिनाको लकडाउन उसले कोठामा एक्लै बसेर बितायो । लामो समय कोठामा एक्लै रहँदा डिप्रेसन हुन सक्छ भनेर घर ल्याउने सल्लाह भयो । घर सल्लाह बमोजिम नै उ साउन १ गते हवाई यात्रा गरी बागडोग्रा एयरपोर्ट हुँदै काँकरभिट्टा आइपुग्यो ।

काँकरभिट्टा प्रवेश गर्दै मौसम ।

उसलाई एक झल्को हेर्न नै काँकरभिट्टा माविको होल्डिङ सेन्टरमा दुई घण्टा अघि नै पुग्यौं । उ आएन । फोन गरें । उसले मेची पुल मुनि रहेको र केहीबेरमा आउने जानकारी दिएपछि मेची भन्सार अगाडि उभिएर उसलाई पर्खियौं । उनीहरुलाई एक जना सुरक्षाकर्मीले निगरानी गर्दै लिएर आएको देख्यौं । उसलाई देख्नै बित्तिकै कुदेर गएर गर्लाम्म अंगालो हाल्न मन लाग्यो । तर सम्हालिएँ । क्वारेन्टिन अवधि पूरा नगरेसम्म उसँग भेटघाट वर्जित हुन्छ भन्ने थाहा थियो । उसले बडो होसियारीपूर्वक मुखमा मास्क र हातमा ग्लोव लगाएको थियो । दश मिटर ढाटैबाट नमस्ते गर्दै उ प्रहरी सँगसँगै काँकरभिट्टा मावितिर लाग्यो । बडो धैर्यताका साथ हामी भने धुलाबारीमा उसलाई क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको होटल रोयल निर्वानतिर लाग्यौं ।

क्वारेन्टिन होटल रोयल निर्वान ।

अढाई घण्टापछि मेचीनगर नगरपालिकाको एम्बुलेन्स चढेर उ क्वारेन्टिममा आयो । अनि उसैगरी मैंले परबाटै बाबुसँग थोरै बोलें र उसलाई क्वारेन्टाइनमा गएर बस्नुपर्ने नियम बारे बताए । हुन त उसलाई क्वारेन्टिनको नियम बारे पूरा जानकारी थियो । जतिसुकै ठूलो भए पनि सन्तान आमाको नजरमा सानै हुँदोरहेछ । यसअघि आउने वित्तिकै गर्लाम्म अंगालो हाल्न आउने छोरो यसपटक भने टाढैबाट अभिवादन गर्दै होटलभित्र पस्यो । मन बेचैन भयो । किनभने आफ्नै सन्तानसँग डराए जस्तो गर्दै म परबाटै टुलुटुलु हेरिरहेकी थिएँ ।
पञ्जाबमा एक्लै सुरक्षित रुपमा कोठामा बसेको कारण उ कोरोनाको जोखिमबाट टाढै थियो । घर हिँड्नु अघि उसले स्वास्थ्य परीक्षण गराएकै थियो । एक्लै बस्न मिल्छ भनेर होटलमा उसलाई राखिएको हो । पैसा खर्च त हुन्छ, तर पैसाभन्दा ठूलो स्वास्थ्य हो । मेरो मनले लीला पाण्डे दाइलाई धन्यवाद दिइरह्यो । किनभने उहाँले करोड खर्च गरेर बनाएको होटल र लजलाई आज क्वारेन्टिनको रुपमा रुपान्तरित गरेर हामी जस्ता धेरैलाई गुन लगाउनुभएको छ ।

आजकल विहान बेलुका आफ्नै हातले बनाएको खाना बाबुले खाइरहेको छ । तर होटलको कोठामा छिरेदेखि उसलाई देख्न पाइएको छैन । खाना लगेर होटलको रिसेप्सनमा राखिदिन्छौं । त्यहाँ होटलका कर्मचारीहरुले नै बाबुको कोठासम्म पुर्याइदिने व्यवस्था गर्नुभएको छ । मोवाइलबाट मनग्ये कुराकानी भइरहेको छ । तर यतिले मेरो मन अघाएको छैन । क्वारेन्टिन अवधि पूरा गरेर घर आएपछि गफिउला भनेर मनलाई सम्झाएकी छु ।

कोरोना महामारीका बेला अपनाउनु पर्ने सतर्कताका विषयमा हामी सचेत छौं । धेरैले व्यक्तिगत रुपमा सल्लाह दिने क्रममा भनसुन गरेर सिधै घरमा ल्याएको भए भइहाल्थ्यो नि पनि भन्नुभयो । जिम्मेवार व्यक्तिहरुले पनि सोर्स लगाएर छिटो पीसीआर परीक्षण गराउन र बाबुलाई घरमा ल्याउन सुझाव दिए । तर हामीले उहाँहरुको गलत सल्लाह मानेनौं । सरकार, स्वास्थ्य मन्त्रालय र डब्ल्युएचओको नियमानुसार हामी बाबुलाई क्वारेन्टिनमा राख्नेछौं । यसमा हाम्रो बाबु र हाम्रो परिवार कन्भिन्स छ ।

२०७७ साउन ४ गते, मेचीनगर (झापा)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: