उपभोक्ताको मन जित्दै ‘सुनमाई वाटर’

  प्रकाशित मिति
१९ बैशाख २०७८, आईतवार ०६:४९


बुद्धशान्ति, १८ बैशाख । कोभिड–१९ का कारण धेरैको रोजगारी गुमे पनि बुद्धशान्ति–७ स्थित सुनमाई वाटर प्रालिमा काम गर्ने ३० जना स्थानीयवासीले भने निरन्तर काम पाइरहेका छन् ।

२०७५ बैशाखदेखि विर्तामोडका व्यवसायी मिनप्रकाश मैनाली, सागर मैनाली, हरि मैनाली र सुनिल भण्डारीले २ करोड ५० लाखको लगानीमा सञ्चालनमा ल्याएको पानी उद्योगमा काम गर्ने अधिकांश महिला छन् ।

पानी प्रशोधन केन्द्रको काममा सुनमाईकै १२ जना युवामध्ये नौ जना महिला छन् । जो विहान बेलुका घरको कामधन्दा र परिवारको हेरचाह गर्दै दिउँसोको समय पानी प्रशोधन केन्द्रमा बोतल बनाउने, पानी भर्ने, लेबल लगाउने लगायतका काममा व्यस्त हुन्छन् । बाँकी युवाहरुले मार्केटिङलगायत अन्य काम गर्दै आएका छन् ।

अन्यत्र कोभिडको संक्रमण बढेसँगै रोजगारी गुमेका अधिकांश युवा शहरबाट गाउँ फर्किएका छन् । तर यहाँ काम गर्ने युवाहरु भौतिक दुरी कायम गर्दै, सुरक्षण सामाग्रीको प्रयोग गरेर निरन्तर रोजगारी दिइरहेका प्रालिका सञ्चालक मिनप्रकाश मैनालीले बताए ।

बोतल र जारको पानीमा उपभोक्ताको रुचि बढेसँगै झापामा करोडौँ लगानीमा ‘पिउने पानी’को उद्योग सञ्चालनमा आएका छन् । ‘मिनरल वाटर’को नाममा खुलेका यस्ता उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको बजार निकै फस्टाएको छ ।

पछिल्लो समय खुलेका त्यस्ता उद्योगले सरकारले तोकेको मापदण्ड पूरा गरेर आधुनिक प्रविधिबाट प्रशोधन गर्दै आएका छन् । यिनैमध्ये एक हो सुनमाई वाटर प्रालि । यसले इलामको रोङ गाउँपालिकामा रहेको सुनमाई झरनाको पानीलाई प्रशोधन गरेर पिउने पानीको रुपमा शहरदेखि गाउँवस्तीसम्म पुर्याउँदै आएको छ ।

इलामको रोङ गाउँपालिका–३ मा मुहान रहेको सो उद्योगले दैनिक एक हजार पाँच सय कार्टुन पानी उत्पादन गर्दै आएको सञ्चालक मिनप्रकाश मैनालीले बताए । उनले झरनाबाट उत्पादन हुने पानी यो नेपालको ११ औँ र प्रदेश नम्बर १ को पहिलो भएको दाबी गरे ।

मैनालीले झरनाबाट खसेको पानीलाई प्रशोधन गरिएको हुँदा यो पानी अरु भन्दा महँगो, शुद्ध र मीठो हुने दाबी गरे । पानीको मूल्य प्रतिकार्टुन १४० रुपैयाँ रहेको छ । बोतलको आधा लिटरदेखि जारमा २० लिटरसम्म उत्पादन भइरहेको छ । बजारमा अरु पानीको तुलनामा महंगो भए पनि सुनमाई स्प्रिरिङ्ग वाटरको माग भने बढिरहेको उनको भनाई छ ।

बजारमा अरु पानीको तुलनामा महंगो भए पनि सुनमाई स्प्रिरिङ्ग वाटरको माग भने बढिरहेको उनले बताए ।

हाल झापा, मोरङ सुनसरी, इलाम, पोखरा, काठमाडौँसम्मको बजारमा उपलब्ध यो पानीलाई निकट भविष्यमा विदेशसम्म पु¥याउने लक्ष्य लिएको मैनालीको भनाइ छ । उनले पानी राख्ने बोतल बनाउने कच्चा पदार्थ भने काठमाडौं, भैरवा र विराटनगरबाट खरिद ल्याइने गरेको जानकारी दिए ।

उनले बजार अनुगमन नहुँदा पानीको पनि कालोबजारी भइरहेको बताए । “खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुगमन फितलो छ”, उनले भने, “कम गुणस्तरीय पानीसँग झरनाको शुद्ध र गुणस्तरीय पानीले प्रतिस्पर्धा गर्नुपरेको छ ।” उनले गुणस्तर अनुगमनमा भने सरकारी निकायले ध्यान नपुर्याउँदा होटल तथा रेस्टुरेन्टहरुले समेत गैरकानुनी ढंगले पानीको बोतलहरुमा आफ्नो लेबल टाँस्ने गरेको आरोप लगाए ।

कतिपय उद्योगले धारा र ट्यबेलको पानीलाई प्रशोधन नगरी सिधै बोतलमा शिलबन्दी गरेको आरोप लाग्ने गरेको हुँदा सरकारी अनुमगनलाई प्रभावकारी बनाउन जरुरी देखिएको छ ।

उद्योग सञ्चालन सुरु भएको दुई बर्षसम्म घाटा व्यहोरेको उद्योगले भने अब मुनाफा दिन थालेको छ ।

सञ्चालक मैनालीले खर्च कटाएर मासिक एक लाख रुपैयाँ आम्दानी हुने गरेको बताए । उद्योग सञ्चालन गरेको बर्ष रु. १५ लाख र पछिल्लो बर्ष १२ लाख गरी २७ लाख रुपैयाँघाटा व्यहोर्नु परेको थियो । तर चालु आर्थिक बर्षको सुरुवातदेखि नै खर्च कटाएर मासिक एक लाख मुनाफा आर्जन हुन थालेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज