‘रकम फिर्ता देऊ, दोषीलाई नछाड’

विर्तामोड डेन्टल हस्पिटलबाट ठगिनेहरूमा शनिअर्जुन–९ लक्ष्मीधापको एउटै वस्तीका दलितका तीन परिवार पनि परेका छन् । उनीहरूको एउटै माग छ–‘हाम्रा रकम फिर्ता देउ, दोषीलाई नछाड ।’

mahila youth - Copy
लक्ष्मीधाप (शनिअर्जुन ),२३ चैत । नर्सिङ पढाउने नाममा विर्तामोड इन्स्टिच्यूट अफ डेन्टल साइन्स प्रालि (विर्तामोड डेन्टल हस्पिटल)बाट ठगिनेहरूमा शनिअर्जुन–९ लक्ष्मीधापको एउटै वस्तीका तीन जना दलित परिवार परेका छन् ।

सीटीइभीटीको अनुमति नलिई विर्तामोडको कृषि थोक मार्गमा फ्ल्याट भाडामा लिएर पुरुषोत्तम भण्डारी र उनका छोरा डा. आशिष भण्डारीले सञ्चालन गरेको डेन्टल हस्पिटलले दुई व्याचका ६० जना विद्यार्थीसँग ५० लाख रुपैयाँभन्दा बढी रकम असुलेको थियो ।

हालै सीटीइभीटीको छाप नलागेको सर्टिफिकेट वितरण गरेपछि विद्यार्थीहरूले कडा आपत्ति जनाउँदै हस्पिटलको ठगी धन्धा सार्वजनिक गरेका थिए ।

गिरीबन्धु चिया बगानमा मजदुरी गर्नेहरूको बसोवास रहेको लक्ष्मीधाप वस्तीका निकिता ठटाल, रेखा गजमेर र प्रतीका दर्जी हस्पिटलको ठगी धन्धाबाट पीडित भएका छन् ।

सामान्य मजदुरी गरी जीविकोपार्जन गर्दै आएका उनीहरूका बुवा–आमाले आफ्ना छोरीहरूलाई नर्सिङ पढाउन आफुसँग भएको जेथोले नभ्याएपछि विभिन्न वित्तीय संस्था र साहुमहाजनबाट व्याज तिर्ने गरी ऋण काढेर ल्याएको रकम हस्पिटललाई बुझाएको पाइएको छ ।

छोरीहरूको शिक्षामा ऋण काढेर लगानी गरेका अभिभावकहरू हस्पिटल सञ्चालकले ठगी गरेको थाहा पाएपछि सन्तानको पढाइ अलपत्र परेको र ऋणको भार बढिरहेको कुराले दोहोरो चिन्तामा परेका छन् ।

‘जागिरका लागि चिन्ता लिनु पर्दैन, हामी नै जागिर समेत दिन्छौँ भन्थे’, हस्पिटलका सञ्चालक डा. आशिष भण्डारीले पैसा लिने बेलामा दिएको आश्वासन सम्झिदै रेखाका वुवा दधिराम गजमेर लोकतन्त्र पोस्टसँग भन्छन्–‘यसरी ठग्ला भन्ने कल्पनै गरिएको थिएन ।’

एसएलसी पास गरेकी छोरी रेखाको नर्स बन्ने आकांक्षा पूरा गर्न आफुले ऋण खोजेर एकमुष्ट ५१ हजार रुपैयाँ हस्पिटलका सञ्चालक डा. भण्डारीलाई बुझाएको प्रमाण देखाउँदै गजमेर थप्छन्–‘हाम्रो छोरीको पढ्ने यत्रो समय लस्ट भयो, ख्यातीमा असर पर्यो, अब हस्पिटलले त्यसको क्षतिपूर्ति र व्याजसहित हाम्रो रकम फिर्ता गर्नु पर्छ ।’

हस्पिटलबाट ठगिएका अरु परिवार समेत ऋणमा डुबेका छन् । छोरीले नर्स पढेर कुनै ठूलो हस्पिटलमा जागिर खाएको देख्न चाहेकी लक्ष्मीधापकी देविका ठटालले लोकतन्त्र पोस्टसँगको भेटमा ठगीका दोषीलाई कडा कानूनी कार्वाही र पीडितलाई क्षतिपूर्तिसहित रकम फिर्ताको वातावरण बनाइदिन मिडिया जगतसँग अपिल गरिन् ।

देविका स्थानीय गिरीबन्धु चिया बगानमा मजदुरी काम गर्छिन् भने उनका पति गणेश ठटाल निजी कम्पनीमा सेक्युरिटी गार्डको जागिर गर्छन् । दुःखजिलो गरेर छोरी निकितालाई एसएलसी पास गराएपछि उनीहरूले नर्स पढाउन भनेरै गाउँबाट सयकडा मासिक ३ रुपैयाँ व्याज काढेर ८५ हजार रुपैयाँ ऋण लिएका थिए ।

हस्पिटल सञ्चालक डा. आशिष भण्डारीका गुलिया आश्वासन सुनेका उनीहरूले हस्पिटल पुगेरै ८४ हजार रुपैयाँ एकमुष्ठ बुझाएका थिए । ‘एकमुष्ठ बुझाउँदा छुट गरिदिन्छौँ भनेपछि हामीले ८४ हजार रुपैयाँ बुझायौँ’, देविका भन्छिन्–‘हामी गरीवको शोषण गर्ने हस्पिटलका मालिकहरूलाई प्रहरी, प्रशासन, राजनीतिक दल, नागरिक समाज र पत्रकार सबैले सहयोग पुर्याएर कार्वाही गराउनु पर्यो ।’

उनले विद्यार्थीले तिरेको रकम हस्पिटलबाट तत्काल क्षतिपूर्तिसहित फिर्ता गराउन प्रहरी प्रशासनसँग माग गरेकी छन् ।

हस्पिटलको दर्ता पुरुषोत्तम भण्डारीको नाममा भए पनि त्यहाँको सम्पूर्ण दैनिक कार्य सञ्चालन र विद्यार्थीबाट रकम असुल्ने कार्य उनका छोरा डा. आशिष भण्डारीले गर्दै आएका थिए । डा. आशिषले विद्यार्थीसँग नगदी रसिद काटेर र कतिपयसँग आफ्नो नामको निजी बैङ्क एकाउन्टमा रकम जम्मा गर्न लगाएर शुल्क असुल्ने गरेको फेला परेको छ ।

हाल प्रहरीले सञ्चालक भनेर पुरुषोत्तम भण्डारीलाई पव्रिmएर अनुसन्धानका लागि हिरासतमा राखेको छ भने उनका छोरा डा. आशिष भण्डारी फरार रहेको प्रहरीको भनाई छ । ठगिएका अधिकांशले फरार रहेको भनिएका डा. आशिषलाई मिलेमतोमा छाडिएको हुनसक्ने आशङ्का गरेका छन् ।

‘छुट पाउने भए एकमुष्ट रकम जम्मा गर्नु भनेर आशिष सरले भन्नु भएको थियो’–एसएलसीमा ७२ प्रतिशत अङ्क ल्याएर विर्तामोड डेन्टल हस्पिटलमा पढ्न पुगेकी लक्ष्मीधापकी प्रतीका दर्जीले लोकतन्त्र पोस्टसँग भनिन् । उनले डा. आशिषको नाममा विर्तामोडको नेपाल एसवीआई बैङ्कमा रहेको २१११५२४१४०४५४४ नम्वरको खातामा २०७२ साउन २४ गते ८४ हजार रुपैयाँ जम्मा गरिदिएको भौचर नै देखाएकी छन् ।

‘छोरीलाई पढाउनै भनेर जीवन विकास संस्थाबाट यो रकम ऋण काढेका थियौँ’, प्रतीकाकी आमा लक्ष्मीदेवी न्यायको याचना गर्दै भन्छिन्–‘गरीवमाथि यस्तो अन्याय हुँदा सबैले बोलिदिनु पर्यो ।’ लक्ष्मीदेवी पनि स्थानीय चिया बगानमा मजदुरी गर्छिन् ।

विर्तामोड डेन्टल हस्पिटलको ठगी धन्धाको शिकार भएका सबै ६० जनाको व्यथा उस्तै उस्तै छ । नर्स पढ्ने सुन्दर सपना साकार नहुँदै ठगीको शिकार भएका उनीहरूमध्ये पछिल्लो व्याचका २८ जनाले न्याय खोज्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा साझा उजुरी दिएका छन् ।

तर विडम्वनाको कुरा प्रहरी र प्रशासनका सबै मान्छेले ठगिएका विद्यार्थीप्रति सहानुभूति त प्रकट गर्छन् नै, यद्यपि पीडितले ऋण काढेर बुझाएको रकम कहिले फिर्ता पाउँलान्, त्यो चाहिँ कसैले भन्न सकिरहेका छैन । जसले विद्यार्थीलाई सीटीइभीटीको अनुमति प्राप्त भन्दै झुक्याएर अनेक बहाना गरी रकम असुल्यो, त्यस मुख्य अभियुक्त डा. आशिष भण्डारीलाई अझैसम्म प्रहरीले पव्रmाउ गरेको छैन ।

‘के कार्वाही हुँदैछ त ?’ लोकतन्त्र पोस्टले झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भीम दाहाललाई सोधेको थियो । पीडितले रकम फिर्ता र दोषीमाथि कार्वाही हुनुपर्ने भनी गर्दै आएको माग पनि लोकतन्त्रले डीएसपीलाई सुनाएको थियो ।

डीएसपी दाहालले पीडितप्रति गम्भीर सहानुभूति प्रकट गर्दै घटनाको अनुसन्धान प्रव्रिmया चलिरहेको जानकारी दिए । ‘फरार रहेको भनिएका आशिष भण्डारीको खोजी तीब्र रुपमा गरिरहेका छौँ’, प्रहरीका जिल्ला प्रवक्ता दाहालले भने–‘अनुसन्धान चाँडै सकेर अभियुक्तलाई हामी अदालतको कठघरामा उभ्याउनेछौँ ।’

भण्डारीद्वयमाथि ठगी मुद्दा लाग्ने जनाउँदै डीएसपी दाहालले केही दिनभित्रमै अनुसन्धान सकेर अदालतमा मुद्दालाई पुर्याइने जनाएका छन् । दोषीमाथि दण्ड सजाय र पीडितलाई क्षतिपूर्ति भराउने कार्य अदालतको आदेश बमोजिम मात्र हुने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: