बिर्तामोड जग्गा ठगी काण्डका १० पक्राउ, भूमिसुधार अधिकृतसहित ५ कर्मचारी फरार

  प्रकाशित मिति
९ बैशाख २०७८, बिहीबार १८:१७


झापा, ९ वैशाख । बिर्तामोडका स्वर्गीय टुङ्ग बहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर अर्काेलाई विक्री गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरी बिहीवार सार्वजनिक गरेको छ ।

उनीहरुले नक्कली टुङ्गबहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा विर्तामोड–७ निवासी रञ्जु राईलाई बिक्री गरेका थिए ।

पक्राउ पर्नेमा झापा बाह्रदशी–३ का ३९ बर्षीय मङ्गल सिंह राजवंशी, झापा भद्रपुर–७ का ५२ बर्षीय नवीन कोइराला, झापा बाह्रदशी–५ का ५० बर्षीय लिलाधर राजवंशी, झापा गौरीगञ्ज–१ का ३७ बर्षीय बलराम बिश्वकर्मा, झापा शिबसताक्षी–८ का ४२ बर्षीय भुपदेव कटुवाल रहेका छन् ।
यसैगरी अर्जुनधारा–५ का ५३ बर्षीय लेखनाथ खनाल, बिर्तामोड–४ का ३४ बर्षीय गोविन्द वान्तवा, बिर्तामोड–१० का ७१ बर्षीय देवीप्रसाद पाण्डे, बिर्तामोड–४ की ३३ बर्षीया रञ्जु राई र मोरङ उर्लाबारी–४ का ४८ बर्षीय राजन विश्वकर्मा रहेका छन् ।

यो समूहले बिर्तामोड–१ स्थित अदुवा पुलबाट सय मिटर नजिक पूर्व–पश्चिम राजमार्गमा जोडिएको स्व. टुङ्गबहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफलको जग्गा ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो समूहले उक्त जग्गा ठगी गर्नको लागि पक्राउ परेकामध्ये देवीप्रसाद पाण्डेलाई नक्कली टुङ्गबहादुर बस्नेत खडा गरी नक्कली नागरिकता समेत बनाई २०७७ असोज २८ गते काठमाडौ जिल्ला अदालतबाट झापा बाह्रदशी–३ घर भई हाल बिर्तामोड–२ चैतुवारी बस्ने मङ्गलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएको पाइएको छ ।

उक्त वारेशनामा मार्फत बिर्तामोड–४ की रञ्जु राईको नाममा २०७७ माघ २१ गते राजीनामा पास गरेको घटनाको बारेमा इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दरखास्त परेसगै १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह , जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घटनाको पर्दाफास गर्दै घटनामा संलग्न रहेकामध्ये १० जनालाई पक्राउ गरी सार्बजनिक गर्न सफल भएको हो ।

ठगी धन्दामा संलग्न रहेका जिल्ला मालपोत तथा भूमिसुधार कार्यालय झापाका अधिकृतसहित पाँच जना कर्मचारी फरार रहेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका उपर ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज