यात्रा संस्मरण : चेप्टी पैदल यात्रा भाग–२

  प्रकाशित मिति
२० बैशाख २०७८, सोमबार ११:४३


दोस्रो दिन अथार्त गत चैत ३० गते विहान म ब्यूँझदा भवानी दिदी अघि नै उठेर बाहिर गइवरि भित्र आइसक्नु भएको रहेछ । म ब्यूँझे तर नउठिकन दिदीलाई ‘योगा गर्नु न’ भनें ।

दिदीले ‘भर्खरै पानी पिएर आएँ नि त’ भन्दै ओछ्यानमा चढ्नु भयो । एकछिनपछि लु सुक्ष्म व्यायाम गरौं भन्नु भयो । म पनि तयार भएँ । खुट्टाको बुढिऔंलेदेखि टाउको सम्मको व्यायाम गराउनु भयो । यो गर्दैगर्दा मलाई सबैले गर्नुहुन्थ्योहोला जस्तो लाग्यो । दिदीलाई भनें । दिदीले सबैलाई बोलाउनु न त भन्नुभयो ।

म बाहिर निस्केँ आँगनमा दुवो रोपेको रहेछ । सुख्खा विहानीमा वाहिरको दुवोमा प्लाष्टिकका गुन्द्री ओछ्याउन लगाएर म पल्लो घरमा सुत्न गएका लिला दिदी र विमलाजीलाई बोलाउन गएँ । एकैछिनमा सबै बेला भयौं र आँगनको दुवोमाथिको गुन्द्रीमा व्यायाम गर्न थाल्यौं । भवानी दिदी योग विषयकी ज्ञाता हुनुहुन्थ्यो । उहाँ अघि अघि हामी पछि पछि व्यायाम गर्दै एक घण्टा वितायौं । नजिकै बगेको माइखोला, माइखोलाको चिसो चिसो हावा, वरिपरि जङ्गल, जङ्गलभित्रका चराचुरुङ्गीहरुको आवाज कति मिलेको सबैकुरा । खासमा यस्तै शान्त र आनन्द खोज्नका लागि हिँडेका थियौं हामी । योग सकिन लाग्दा कोही मान्छे मोटरसाइकलमा आएर हाम्रो अगाडि रोक्यो र ओर्लेर नमस्कार है हजुरहरु भन्दै हामी भएतिरै आए ।

हामीसँग व्यायाम गर्नेमा हामी बसेको घरकी दिदी पनि थिइन् । उनैले ‘उ, अध्यक्ष आइपुग्नुभयो भनिन् । फोनमा धेरैपटक बोलेको भएपनि, यहाँ सम्म पुग्नका लागि फोनकै माध्यमबाट उनैले वातावरण मिलाइदिएको भए तापनि प्रत्यक्षरूपमा उनलाई भेटे, देखेकी थिइन मैले । उठेर नमस्कार गरें । उनी आएर हामीसँगै उभिए । हतार भएर अरु बस्न नभ्याउने भएपछि अलि पर्तिर लगेर उहाँसँग केही कुराकानी गरियो भिडियोमा । मैले चेप्टी र यहाँको विकाससँग सम्बन्धित विषयहरु राखेर प्रश्न गरें उहाँले उत्तर दिनुभयो । त्यसपछि सामुहिक तस्वीर खिच्यौं उहाँसँग, सानो खदा लिएर गएकी थिएँ । उहाँले हाम्रो यो यात्रालाई सहजतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेले वापत कम्तिमा त्यति त गर्न सक्छौं भनेर घरैबाट त्यो खदा बोकेर गएकी थिएँ मैले । त्यो खदा लगाइदियौं । त्यसपछि उहाँ कार्यालयमा केही काम छ भन्दै हतार गरेर हिँड्नुभयो ।

त्यसपछिको हाम्रो काम भनेको डुल्नु, घुम्नु नै थियो । हाम्रो योग सकिउन्जेलमा खाना पनि तयार भैसकेको थियो । घुमेर आएर खानु भन्दा पनि खाएर घुम्न निस्किउँं भन्ने कुरा भयो । मीठोसँग खाना खायौं । दाल भात तर्कारी । खाना खाँदै बारी पनि हेरिरहेका थियौं । बारीमा अरु त केही साग शब्जी थिएन तर अलि पर एक दुई सजिनाका बोट थिए । तिनै बोट हेर्दै गीता दिदीले ‘वहिनी भरे चाहिँ त्यो सजिवनको दाल खाने है’ भन्नु भयो । मेरो पनि मनपर्ने शब्जी हो सजिवन । ‘हुन्छ’ भनिन् घरबेटी दिदीले । खाना खाईसकेर पहिला दक्षिणतिर बन्दैगरेको सेल्फी डाँडा गएर आउने अनि उत्तरपटि माइखोलामा गएर नुहाउने भनेर निस्क्यौं । तर खै कसरी हामी सुरुमै उत्तरतिर ढल्कियौं ।

त्यहाँ नजिकै झोलुङ्गे पुल रहेछ । त्यही पुलमा पुगेर फोटो खिच्यौं थरिथरिका । तल माइखोला बगरिहेको थियो । त्यही ठाउँ हो हामी हाम्रा बुबा काका र गाउँलेहरुसँग पूजा गर्न भनेर जान्थ्यौं । घरबाट बिहानका राति नै हिँडेर दिनभरी बुबाहरु पूजा गर्नुहुन्थ्यो हामी पौडी खेल्थ्यौं र बेलुका राति हुँदा घर पुग्थ्यौं । पुराना दिनहरु मनभरी खेलिरहे त्यस ठाउँमा रहँदा । फोटो खिचिसकेर सेल्फी डाँडा फर्कने क्रममा घरबेटी दिदीले ‘नुहाउने लुगाहरु लिएरै जानु, उता पनि माइखोलो नजिकै पर्छ, उतै नुहाउँदा हुन्छ’ भनिन् । हामी पनि आज्ञाकारी भयौं । घरभित्र पसेर नुहाउने लुगा लिएर निस्कियौं । निस्कँदा निस्कँदै एउटा सल्लाह भयो । हामी भाषा साहित्य क्षेत्रका मान्छे, हामीले यस ठाउँका मान्छेहरुको भाषा साहित्य क्षेत्रप्रतिको चासो, रुची के कस्तो छ त्यसबारे पो बुझ्नुपर्छ भन्ने कुरा भयो ।

मैले वडाध्यक्षलाई फोन लगाएर ‘हामीलाई यस ठाउँका युवाहरुलाई भेला गराइदिन सक्नुहुन्छ साँझतिर, एउटा सानो कार्यक्रम गर्न पाए हुन्थ्यो’ भनेँ । युवाहरुलाई त होइन तर अहिले दिउँसै यस क्षेत्रको एकमात्र विद्यालय छ त्यहाँका प्रिन्सिपलसँग भेट गराइदिन सक्छु, त्यहाँ कार्यक्रम गर्न सक्नुहुन्छ’ भन्दै फोन राखे । नभन्दै एकछिनमा फोन आयो । म चेप्टीको विद्यालयको प्रधानाध्यापक हुँ’ भन्दै । हामी कुरा गर्दा गर्दै ठ्याक्कै त्यही विद्यालयको पछाडिपटि पुगेका रहेछौं । मैले हामी भएको ठाउँ बताएपछि उहाँले स्कुलमा जानु, सरहरु हुनहुन्छ, म भने एउटा विशेष कामले नगरपालिका तिर छु’ भने । हामी ढिलो नगरी ‘श्री सिसुसेवा माध्यमिक विद्यालय’को प्राङ्गणमा पुग्यौं । शिक्षक शिक्षिकाहरुसँग परिचय गर्दै कार्यालय तिर पुग्यौं । सवैसँग परिचय गर्न र हाम्रो उद्देश्य वताउन समय लागेन ।

हामीले यस विद्यालयका शिक्षक विद्यार्थीहरुलाई राखेर एउटा कार्यक्रम गर्ने इच्छा भएको कुरा बतायौ । नभन्दै शिक्षकहरुले एकैछिनमा एउटा ठुलो कक्षाकोठामा कक्षा ६ देखि दश सम्मका विद्यार्थीहरु राखेर अगाडि केही कुर्सी र एउटा साउण्ड सिस्टम पनि राखेर तयार पार्नुभएछ । मैले कार्यक्रम सन्चालन गरें । विद्यालय व्यवस्थापनका अध्यक्ष ओलकिङ राईलाई सभाध्यक्ष, भवानी क्षेत्री दिदीलाई प्रमुख अतिथी राखेर कार्यक्रम सुरु गरें । सुरुमा नानीहरुले आफ्नो प्रतिभा देखाउन मानेनन्, लजाए, पछि फेरि एक एक गर्दै धेरै भाइ वहिनीहरुले नृत्य र गायन प्रस्तुत गरे । शिक्षक शिक्षिकाहरु तथा हामी यताबाट जानेहरुले पनि आफ्ना कविता र रचनाहरु सुनायौं । धेरै रमाइलो भयो । विद्यार्थी नाच्दा नाच्दै सभाध्यक्षले पनि आफैं नाच्ने रहर गरेर पुरानो एउटा गीत लगाएर नाच्नु भयो ।

शिक्षक शिक्षिकाहरुले पनि उतिकै उत्साहित हुँदै सहभागिता जनाउनु भयो यसरी लग भग दुईघण्टा अत्यन्तै सुन्दर कार्यक्रम भयो र खाजा खुवाएर हामीलाई विदा गर्नुभयो विद्यालयका शिक्षकहरुले । त्यही समयमा क्यामरामेन आशिष जीले घर फिर्नुपर्ने थियो । भनेको समयमा सवारी साधन नभेटिने भएकोले त्यही स्कूलका जुकेखाडीको नजिक पर्ने बुढी सुखानी घर भएका शिक्षक प्रेम सरलाई अनुरोध गरेर सबै शिक्षकहरुसँग अनुमति लिएर उहाँकै बाइकमा जुकेखाडी सम्म पुग्ने व्यवस्था मिलाइदियौंँ । यसरी आशिष जीलाई विदा गरेपछि हामी पनि न्यानो माया र सम्मानका लागि विद्यालय परिवार पति कृतज्ञ वन्दै नुहाउनका लागि माइखोला तर्फ लाग्यौं । यो गर्मीमा भेटेको माइखोलाको पानी । हामी धेरै पानीमा पौडिन नजान्नेहरुका लागि पनि सहज भएको रहेछ पानी घटेर ।

हामीले एक डेढ घण्टा लगाएर धित मरुन्जेल नुहायौं, पौडी खेल्यौं । नुहाएका फोटो र भिडियो पनि प्रसस्तै खिच्यौं । नुहाइसकेर चिसा लुगालाई बगरमै सुकाएर हामी पनि बगरमा बसेर अरु एक घण्टा जति घरैदेखि लगेको खाजा खायौं । रमायौं । नजिकैको भित्ताको कुवामा पानी भर्न गाग्रो बोकेर आईरहे स्थानीयहरु, अघि स्कुलमा सहभागी भएका वहिनीहरु, लुगा धुन, नुहाउन र पानी बोक्न खोलातिर झरिरहे । सबै दृष्यहरु हेर्दै रमाइलो मान्दै हामी फेरि डाँडामा उक्ल्यौं । अलि तल्तिर रहेको सेल्फी डाँडातिर लाग्यौं सबैजना । भर्खरै निर्माण सुरु भएको सेल्फी डाँडालाई पनि सुरुङ्गाको सेल्फी डाँडा बनाउने टिमले नै बनाउँदै रहेछ । चारैतिर चुरे पहाडहरुले छेकेको पहाडी भेगको बीचको समथर ठाउँ हेर्दा उपत्यका जस्तो लाग्यो । माइखोलाको किनारमा प्रसस्त माइको हावा आइरहेको थियो ।

सेल्फी एरियाबाटै अर्को एउटा झोलुङ्गे पुल बनाएको रहेछ । माथिको भन्दा अग्लो स्थानबाट । अझ माथि अर्को पनि रहेको र यो भन्दा तल यो भन्दा अझ अग्लो स्थानबाट नयाँ झोलुङ्गे पुल बनाउने योजना रहेको कुरा भोलिपल्ट हामीलाई विदा गर्न आइपुग्नु भएका वडाध्यक्षले बताउनु भएको थियो । हामी त्यस झोलुङ्गे पुलमा दिल खोलेर रमायौं । पुलको पल्लो छेउसम्म पुगेर आफ्नै मोवाइलबाट भनेजति फोटो भिडियो खिच्यौं । स्थानीयहरुसँग गफ ग¥यौ, स्थानीयका समस्या बुझ्यौं । विकट ठाउँ चेप्टीका वासिन्दाहरुमा यो सेल्फी डाँडाको योजनाले नयाँ आशा पलाएको पायौं । अहिलेका अध्यक्षले भनेजति खुसी पारेका रहेछन जनताहरुलाई । हामीसँग भेटिएजति कसैले पनि उनको बारेमा नराम्रो कुरा गरेनन् ।

हामी फर्किएर फेरि निर्माणाधिन सेल्फी डाँडामा आइपुग्यौं । बालुवा थुपार्ने, मिलाउने जस्ता कामहरु धमाधम भइरहेका थिए । त्यहाँको अर्को योजना माइखोलामा पानी जहाज कुदाउने रहेछ । दोमुखातिरबाट पानी जमाएर पानी जहाज कुदाउने योजना रहेछ । यसका लागि पश्चिमतिरबाट एक साना इन्जिनियर (नेपालका वैज्ञानिक) भाइ विजय राणालाई बोलाएर पानी जहाजको निर्माण भइरहेको रहेछ । त्यो कुरा थाहा पाउने बित्तिकै म उनीसँग अन्तरवार्ता लिन पाउँछु कि भन्ने आशामा उनी भएतिर दौडिएँ । तर उनलाई अन्तरवार्ता दिन, फोटो खिचाउन र पानी जहाजको फोटो खिच्न समेत मनाही रहेछ । उनले फोटो खिच्न सम्म मानेनन् । कसो कसो एउटा फोटो खिच्न चाहिँ माने । पानी जहाजको फोटो भने मैले खुसुक्क कसैले थाहा नपाउने गरी नै खिचेँ । यसरी सेल्फी डाँडाको अवलोकन गर्दै त्यसदिनको घुमघामलाई बिट मार्दै हामी हाम्रो वासस्थान तर्फ फर्कियौं । साँझ परेको थियो ।

घाम ठिक्क माइपारिको चुरेडाँडामा अडिए जस्तो देखिरहेको थियो । हामीले त्यो साँझको सुन्दर दृष्यलाई आ–आफ्नो क्यामरामा कैद गर्यौं । घर पुग्दा झमक्क साँझ परिसकेको थियो । दिदीले खाना पनि पकाइसक्नु भएछ । खान बस्यौं । हामीले विहान सजिवनको दाल पकाउनु भनेका थियौं । दिदीले सजिवन त पकाउनु भएछ तर फलको होइन पातको । हाम्रो आशा विपरित भयो । थक्क थक्क लाग्यो तर पातकै पनि दाल नमिठो भने थिएन । दिनभरको थकाइ र भोकले आक्रान्त भएका हामी स्वादिलो खाना खाएर ओछ्यान तिर गयौं । अघिल्लो दिनको भन्दा बेलैमा निदाउने कोशिष गर्यौं ।

तेस्रो दिन अर्थात २०७७÷१२÷३१ गते अर्थात २०७७ सालको अन्तिम दिन पनि म उठ्नु अगाडि नै भवानी दिदी उठिसक्नु भएको थियो । वाहिर दिदीहरुको रमाइलो कुराकानी सुन्दै उठेँ म । वाहिर निस्केँ । भवानी दिदी र गीता दिदी विहान चार बजेतिर कराएका चराचुरुङ्गीहरुको आवाजबाट आनन्दित भइरहनु भएको रहेछ । विभिन्न थरिका चराचुरुङ्गीहरुको हल्लालाई भवानी दिदीले भिडियोमा रेकर्ड गर्नुभएछ भने गीता दिदी भने तिनै आवाजमा केन्द्रित भएर ध्यान गर्नुभएछ । त्यो विहानको समयको आनन्द दुईटी दिदीहरुले भरपुर लिनुभएछ । म उठ्दा पनि चारचुरुङ्गीहरुको आवाज आईरहेकै थियो ।

अघिल्लो दिन सेल्फीडाँडाबाट फर्कँदा त्यस ठाउँमा एक मात्र आउने ट्याक्सीका ड्राइभरसँग भेट भएको थियो । उनको ट्याक्सी हरेक दिन विहान सात बजे नै यस ठाउँदेखि बिर्तामोड सम्मका लागि हिँड्ने भन्ने कुरा सुनेपछि हामीले पनि सल्लाह गरे यही गाडीमा जाउँ भन्यौं र भोलिपल्ट विहान हामी बसेकै ठाउँमा आउनका लागि अनुरोध ग¥यौं । नभन्दै विहान सात बज्न नपाउँदै उनी त टुप्लुक्क आइपुगेछन् हामीलाई लिन । उनी आउनु भन्दा अगाडि नै अध्यक्ष खम्बासिंह लिम्बू सुरुङ्गाबाट आइपुगेछन् । कस्तो सक्रियता ! आफू सुरुङ्गामा बसे तापनि हरेक दिन सात, आठ बजेतिरै चेप्टी पुग्नु भनेको सक्रियता हो, जागरुकता हो । त्यस्तै सक्रिय वडाध्यक्षको यो जाँगरिलोपनाले खुसी बनायो हामीलाई । आएर यो यात्राको लागि खुसी व्यक्त गर्दै हामीबाट बिदा भएर गए उनी ।

हामीपनि त्यस ठाउँको सुन्दर, शान्त वातावरणलाई मनभरी कैद गर्दै पुनः आउने चाहना मनमा राखेर ट्याक्सीमा चढ्यौं । गरुवातिरको बाटो । भर्खर भन्दै रहेछ । त्यही बाटोबाट घर फर्कियौं हामी । गरुवा कटेपछि आउने जङ्गल र ज्यामद्वार हेर्दै सुखानी सहिद पार्कमा आइपुग्यौं । हामीले पहिला नै अनुरोध गरेका थियौं यस ठाउँमा एकछिन ओर्लन्छौं भनेर । उनले केही नभनी रोकिदिए । दशमिनटमा हामीले फोटो खिच्नेकाम सकेर फेरि गाडीमा चढ्यौं । हाम्रो योजना विर्तामोड पुग्ने थिएन । हामी नौ पन्ध्र बजे जुकेखाडीको सिरान कुम्भिटारमा रहेको मेरो माइतघरमा ओर्लियौं । आमा बुबा, भाउजु घरमै हुनुहुन्थ्यो ।

हामी पुगेपछि भाउजुले खाना दिनुभयो । माइतघरको खाना मलाई त मिठो लाग्यो । अरुले पनि मिठै मानेर खाएको महसुस गरें । खाना खाएर केहीबेर भित्रको खाटहरुमा यसै लड्यौ । कुराकानी ग¥यौं । भवानी दिदी देखि बाहेकले मोही खायौं हामीले । भवानी दिदी भने भेगन हुनुभएको रहेछ । उहाँले डा.विश्वरुप रोय चौधरीको डाइट प्लानलाई अनुशरण गरिरहनु भएको रहेछ । जस अनुसार फलफूल र सलादलाई बढि जोड दिएर दुधजन्य पदार्थ केही पनि खानु हुँदैन रहेछ ।

निकैबेर त्यहाँ बसेर एउटा अटो बोलाएर म र बिमलाजी भन्दा बाहेकका सबैजना अटोमा जानुभयो । म र बिमला जी मेरो स्कुटीमा बिर्तामोड सम्म गयौं । बिर्तामोडको देवीवस्ती नजिक रहेको भगवती दिदीको घरको छेउमा विमलाजीलाई छाडेर घर पुग्दा झण्डै साढे तीन भइसकेको थियो । यसरी एउटा सुन्दर, अर्थपूर्ण यात्रालाई पूर्ण विराम दिँदै २०७७ सालको अन्तिम साँझ पर्नलाग्दा म मेरो घरमा आफ्नो परिवारसँग पुगेकी थिएँ ।

लेखक : खगिन्द्रा खुसी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज